काठमाडौं । नेपाल नेपाल उद्योग वाणिज्य महासंघले दशाैं अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ ।
आगामी वैशाख २५ गतेदेखि २९ गतेसम्म भृकुटीमण्डपमा मेला आयोजना हुन लागेको हो ।
मेलमा नेपालसहित चीन, भारत, पाकिस्तान र बंलादेशका क्रेताहरूलाई आमन्त्रण गरिएको मंगलबार आयाेजना गरिएकाे पत्रकार सम्मेलनमा मेला आयोजक समितिका सभापति उमेश डाल्मियाले बताए ।
उनका अनुसार मेलामा २५० भन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिनेछ ।
मेलाको सम्पूर्ण तयारी भइसकेको महासंघले जनाएको छ ।
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा मेड एन नेपाल सो, हस्तकला उत्पादन, वस्तुगत संघका उत्पादनका साथै चार पांग्रे र दुई पांग्रे विद्युतीय सवारीसाधन (ईभी) समेत राखिने महासंघले जनाएको छ ।
मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तक्रिर्या गराउने लक्ष्यसमेत रहेको आयोजक समितिका सभापति डाल्मियाले जानकारी दिए ।
मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माणसम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरू राखिने छन् ।
मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानीबारे छलफलसमेत हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब २० हजार अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा छ ।
महासंघकै नेतृत्वमा यसवर्ष अघिल्ला वर्षहरू जस्तै मुलुकभित्र प्रादेशिक, जिल्लास्तर एवं वस्तुगत गरी विभिन्न भागमा आयोजना हुने क्रममा छ ।
विभिन्न जिल्लाहरुमा आयोजना भएका मेलामा उत्कृष्ट स्टल तथा उत्पादनलाई एनआइटीएफमा निःशुल्क स्टल उपलब्ध गराइने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा एउटा विशिष्ट पहिचान बनाइसकेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आर्कषण गर्ने, नेपाली उत्पादनहरूको अन्तराष्ट्रिय बजार प्रवद्र्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उकास्न सघाउ पु¥याउने विश्वास महासंघले लिएको छ ।
मेलामा जेष्ठ नागरिक तथा फरक रुपले समक्ष नागरिकहरुलाई निःशुल्क तथा विद्यार्थीहरूलाई उनीहरूको प्रवेशपत्रका आधारमा पचास प्रतिशत प्रवेश छुटको व्यवस्था समेत गरिएको छ ।
चैत्र ११ गतेबाट स्टल बुकिङ खुल्ला गरिएको महासंघले जानकारी गराएको छ ।
प्रवेश शुल्क कति ?
मेलामा अवलोकन गर्ने चाहानेलाई ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ भने विद्यार्थीहरूलाई ५० प्रतिशत छुट गरिने आयोजक समितिले जनाएको छ । मेलामा नेपाली वस्तुलाई विशेष प्राथमिकता दिइने छ भने आकर्षणको रूपमा खेलौनाका सामग्रीदेखि हिमाल, पहाड र तराईमा उत्पादन गरिएका वस्तुहरू प्रर्दशनीमा रहनेछन्।
अन्तर्राष्ट्रिय मेला नै किन ?
आयोजनाका उपसभापति सविन श्रेष्ठले नेपालभरि छरिएर रहेका उत्पादित चिजवस्तुहरूलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने हेतु तथा अन्तर्राष्ट्रिय बजारसम्म पुगून् भन्ने उद्देश्यले मेलाको आयोजना गरिएको जानकारी दिए ।
यस्तै, मेला आयोजक सभापति डाल्मियाले नेपाली उत्पादनलाई केही नयाँपन दिन खोजेका तर यो आफूहरूले मात्रै गरेर नहुने जिकिर गरे ।
उनले भने, ’भृकुटीमण्डप क्षेत्र व्यवस्थित हुन सकेन । त्यहाँको अवस्था ठीक छैन । सरकारले त्यहाँ मेला लागेवापत पैसा उठाउँदै आएको छ तर व्यवस्थित गर्न सकेको छैन । मेला हामी कहिले पनि भव्य र सभ्य रूपमा बनाउन सकिरहेका छैनौं ।’
डाल्मियाले निजी क्षेत्रले मात्रै गरेर देशको अर्थतन्त्र चलायमान हुन नसक्ने बताए ।
मेलामा चीनबाट पावर ट्रान्समिसन इक्यूपमेन्ट, इलेक्ट्रिकल्स तथा अटो मोबाइल्स, फुड एण्ड वेभरेज, मिलक प्रडक्ट, किचन वेयर, गार्मेन्टस्, बंगलादेशबाट गार्मेन्ट्स, पाकिस्तानबाट लेदर तथा गार्मेन्ट स्टलहरू रहने महासंघले जनाएकाे छ ।