काठमाडौं । भारतको पुर्णियास्थित द सब हिमालयन रिसर्च इन्स्टिच्युट र पिएचडी चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, नयाँ दिल्लीको संयुक्त आयोजनामा सम्पन्न 'भारत-नेपाल साझेदारी शिखर सम्मेलन २०२५' मा मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह विशिष्ट अतिथि तथा मुख्य वक्ताको रूपमा सहभागी भए ।
नेपाल–भारत बीचको ऐतिहासिक, सांस्कृतिक, सामाजिक तथा आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित उक्त सम्मेलनमा नेपालका तर्फबाट अनिल कुमार साहसँगै नेपाल इन्स्टिच्युट अफ इन्टरनेशनल एण्ड स्ट्रेटेजिक स्टडिजका संस्थापक निर्देशक भाष्कर कोइराला र सामाजिक अभियन्ता प्रवीण नारायण चौधरीको सहभागिता रहेको थियो ।
उपाध्यक्ष साहले सम्मेलनमा नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा बल दिँदै औद्योगिक, पर्यटन, शैक्षिक र स्वास्थ्य क्षेत्र लगायतका विविध आयाममा सहकार्यका सम्भावनाहरूको खाका प्रस्तुत गरे । साथै, व्यापार घाटा न्यूनीकरण, लगानी प्रवर्द्धन, सीमावर्ती क्षेत्रको समन्वित विकास, र द्विपक्षीय व्यापार नीतिको पुनरावलोकन आवश्यक रहेको धारणा राखे ।
सम्मेलनको अवसरमा मोरङ उद्योग व्यापार संघ र द सब हिमालयन रिसर्च इन्स्टिच्युटबीच शैक्षिक एवं अनुसन्धान सहकार्य, सम्पदा संरक्षण, सामाजिक विकास, विद्यार्थी तथा संकाय आदान–प्रदान, सांस्कृतिक कार्यक्रम लगायतका विषयमा आपसी समझदारीपत्रमा हस्ताक्षर समेत गरिएको छ ।