काठमाडौं । तीन दशकभन्दा बढी बैंकिङ अनुभव भएका गोविन्द घिमिरेले एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा बुधबारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन् । विगत १६ वर्षदेखि एनएमबि बैंकसँग आबद्ध घिमिरे यसअघि नायव प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका थिए ।
घिमिरेले बैंकको व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना र सञ्चालन सुधारमा निरन्तर योगदान दिँदै आएका छन् । उनको नेतृत्वमा प्रविधिमा आधारित सेवा विस्तार र दिगो बैंकिङ अभ्यासहरूमा उल्लेखनीय सुधार भएको बैंकले जनाएको छ ।
'नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवा हाम्रो प्राथमिकता हुनेछ,' कार्यभार सम्हाल्दै घिमिरेले भने, 'डिजिटल प्रविधि र नयाँ सोचको प्रयोगमार्फत हामी ग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो र सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढ्नेछौं ।'
त्यस्तै, आजैबाट सुदेश उपाध्यायलाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ । स्वदेशी तथा विदेशी बैंकिङ क्षेत्रमा व्यापक अनुभव बटुलेका उपाध्याय अन्तर्राष्ट्रिय व्यापार र बैंकिङ्ग सम्बन्धमा दख्खल राख्ने बैंकर मानिन्छन् ।
एनएमबि बैंकले अनुभव, निरन्तरता र नवप्रवर्तनमा आधारित यो नेतृत्व परिवर्तनलाई आगामी ‘समृद्ध नेपाल’ को यात्रासँग जोडेर स्वागत गरेको छ ।