काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले यातायात व्यवसायी र मजदुरको समस्या कांग्रेसले समाधान गर्ने बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै उनले यातायात क्षेत्रमा देखिएको समस्या समाधानमा पार्टी लाग्ने बताए ।
‘यातायात क्षेत्रको लगानी देशको विकाससँग जोडिएको छ, यसको संरक्षण गर्ने जिम्मा सरकारको यो, तीनै तहसँग जोडिएको यातायात क्षेत्रको मुद्दालाई पार्टीले समन्वय गरेर समाधान निकाल्छ,’ उनले भने ।
उनले मुलुकको राजनीतिक अस्थिरता चिर्नका लागि कांग्रेस र एमालेबीच गठबन्धन भएको भन्दै गठबन्धनको मर्म र भावनाअनुसार सरकार अगाडि बढ्नुपर्ने बताए । सबै राजनीतिक दलसँग छलफल गरेर संविधान संशोधनमा सरकार लाग्नुपर्ने उनको भनाइ छ ।
कांग्रेस उपसभापति धनराज गुरूङले नेपालको रोजगारी सिर्जना गर्ने ठूलो सेवामूलक क्षेत्र यातायात क्षेत्र भएकाले यस क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार लाग्नुपर्ने बताए । यातायात क्षेत्रले मुलुकले राम्रो राजस्व सङ्कलन गरिरहेको उनको भनाइ छ । उनले यातायात व्यवसायीले राखेको मागप्रति पार्टीको ध्यानाकर्षण भएको भन्दै माग सम्बोधनका लागि पार्टी लाग्ने विश्वास व्यक्त गरे ।
कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले विसं २०४६ पछि कांग्रेस नेतृत्वमा बनेको सरकारले लिएको नीतिका कारण गाउँगाउँमा मोटरबाटो र यातायात पुग्न थालेको स्मरण गरे । मोटरबाटो र यातायातको विकासविना देशको विकास हुन नसक्ने उनको भनाइ छ ।
कांग्रेस नेता अर्जुननरसिंह केसीले शिक्षक आन्दोलनको मारमा नेपालको यातायात क्षेत्र परेको बताए । उनले शिक्षकसँग यसअघि सरकारले गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने बताए ।
कृषिमन्त्री रामनाथ अधिकारीले सुरक्षित यात्राका लागि यातायात व्यवसायीले नागरिकमा विश्वास दिलाउन सक्नुपर्ने बताए । कांग्रेस केन्द्रीय सदस्य सीता गुरूङ, शिवप्रसाद हुमागाईं बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, कांग्रेस काठमाडौंका सभापति सबुजकृष्ण बानियाँ, ललितपुरका सभापति जीतेन्द्र श्रेष्ठलगायतले यातायात क्षेत्रमा गरिएको लगानी सुनिश्चित गर्नुपर्ने बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले १२ खर्ब रुपैयाँ लगानी र १५ लाख श्रमिकलाई रोजगारी प्रदान गरेको यातायात क्षेत्रको पुँजी र श्रमको संरक्षण हुनुपर्ने बताए ।
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घका अध्यक्ष योगेन्द्रनाथ कमाचार्य, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठनका अध्यक्ष डेकनाथ गौतम, नेपाल यातायात व्यवसायी सङ्गठनका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राई, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलालगायतले व्यवसायीको मुद्दामा एकजुट भएर अगाडि बढेमात्र आफ्नो माग सम्बोधन हुने बताए ।
उनीरूले सर्वोच्च अदालतले यातायात समितिलाई कायम राख्ने फैसला गरिसकेको भन्दै यसलाई कार्यान्वयनका लागि सरकारले काम गर्नुपर्ने बताए ।