टोयोटा अध्यक्षले टोयोटा इन्डस्ट्रीज किन्न ४२ अर्ब डलरको प्रस्ताव राखे

काठमाडौं । टोयोटा मोटरका अध्यक्ष आकियो टोयोडाले आपूर्तिकर्ता कम्पनी टोयोटा इन्डस्ट्रीज किन्नका लागि सम्भावित ६ ट्रिलियन येन (४२ अर्ब अमेरिकी डलर) बराबरको प्रस्ताव राखेको ब्लूमबर्ग न्यूजले शुक्रबार जनाएको छ ।

ब्लूमबर्गका अनुसार टोयोटा इन्डस्ट्रीज (टोयोटाका लागि अटो पाट्र्स बनाउने) ले यो प्रस्ताव प्राप्त गरेपछि एक विशेष समिति गठन गरेको छ र प्रस्तावको अध्ययन गर्न सलाहकारहरू नियुक्त गरेको छ ।

यदि यो सम्झौता सम्पन्न भयो भने यो कर्पोरेट जापानका लागि एक विशाल अधिग्रहण (बायआउट) हुने छ, जसले टोयोटाका संस्थापकका नाति आकियो टोयोडालाई टोयोटा समूहभित्रको एक महत्त्वपूर्ण कम्पनीमाथि पूर्ण नियन्त्रण दिनेछ ।

टोयोटा इन्डस्ट्रीजको सुरुवात कपडा सिलाउने मेसिन निर्माणबाट भएको थियो र यसै कम्पनीबाट पछि टोयोटा मोटरको विकास भएको हो ।

हाल यस कम्पनीले कपडा उपकरण, कार इञ्जिन, इलेक्ट्रोनिक्स र स्ट्याम्पिङ डाइहरू निर्माण गर्ने कार्य गरिरहेको छ ।

यो सम्भावित अधिग्रहण जापानमा पछिल्लो समय बढेका व्यवस्थापन बायआउट र कर्पोरेट अधिग्रहणहरूको लहरसँग मेल खान्छ । यस्ता धेरै सम्झौताहरूले जापानमा कर्पोरेट शासन सुधार भई सेयरहोल्डर लाभमा सुधार हुने विश्वास दिलाएको छ । साथै लामो समयदेखि चलेको मन्दी अन्त्य भएर अर्थतन्त्रले दिशा फेरेको आँकलन पनि गरिएको छ ।

बीवाईडीको त्रैमासिक नाफा गत वर्षको तुलनामा १००.४ प्रतिशतले वृद्धि
 

Share News