अमेरिकी नीतिको असर : चिनियाँ उत्पादनमा ठूलो ब्रेक, वैकल्पिक बजारको खोजी

काठमाडौं । चिनियाँ निर्माता कम्पनीहरूले उत्पादन रोकी नयाँ बजारतर्फ मोडिन थालेका छन् ।  कम्पनी र विश्लेषकहरूका अनुसार अमेरिकी शुल्कहरूको प्रभाव परेपछि उत्पादन रोकी नयाँ बजारतर्फ मोडिन थालेका हुन् ।

अर्डर गुम्दा रोजगारीमा पनि असर परेको छ ।

'केही कारखानाहरूले आधा कर्मचारीहरूलाई केही हप्ता घर पठाएको र धेरैजसो उत्पादन रोकिएको बताएका छन्,' शाङ्घाइस्थित  टाइडलवेभ सोलुसन्सका वरिष्ठ साझेदार क्यामरुन जोनसनले भने । 

उनले खेलौना, खेल सामग्री र सस्तो ‘डलर स्टोर’ प्रकारका सामान बनाउने कारखाना सबैभन्दा बढी प्रभावित भएको बताए ।

'यो ठूलो स्तरमा नभए पनि यीउ र डोङगुआनजस्ता मुख्य निर्यात केन्द्रहरूमा भइरहेको छ र यो अझ विस्तार हुने चिन्ता छ,' जोनसनले भने । 

'शुल्कहरू घट्ने आशा गरिएको छ ताकि अर्डरहरू फेरि आउन सकोस्, तर अहिलेका लागि कम्पनीहरूले कर्मचारीहरूलाई बिदामा पठाइरहेका छन् र केही उत्पादन ठप्प पारिरहेका छन्,’ उनले थपे ।

गोल्डम्यान स्याक्सको अनुमानअनुसार १ करोडदेखि २ करोड चिनियाँ श्रमिकहरू अमेरिकी निर्यात व्यवसायमा संलग्न छन् । गत वर्ष चीनका सहरहरूमा कुल कामदार संख्या ४७३.४५ मिलियन थियो ।

अमेरिकाले चिनियाँ सामानमा १०० प्रतिशतभन्दा बढी शुल्क थपेको छ, जसको जवाफमा चीनले पनि समान शुल्क लगाएको छ । यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेइजिङसँग वार्ता भइरहेको दाबी गरे पनि चिनियाँ पक्षले कुनै वार्ता भइरहेको नभएको जनाएको छ ।

ग्वाङ्झाउस्थित सप्लाई चेन व्यवस्थापन कम्पनी इमेक्स सोर्सिङ सर्भिसेसका संस्थापक तथा सीईओ आश मोङ्गाले भने, 'भर्खरै शुल्क दोब्बर हुँदा परेको प्रभाव कोभिड महामारीभन्दा ठूलो छ ।'

साना व्यवसायहरूका लागि केही मिलियन डलरको मात्र स्रोत हुँदा अचानक शुल्क बढ्नु असह्य हुने र व्यवसाय नै बन्द हुने खतरा रहेको उनले बताए ।

चिनियाँ उत्पादन आयात गर्ने ग्राहकहरूको ठूलो माग भएकाले उनीहरूले 'ट्यारिफ हेल्प' नामक नयाँ वेबसाइट सुरु गर्दैछन्, जसले चीन बाहिरका आपूर्तिकर्ताहरू खोज्न साना व्यवसायहरूलाई मद्दत गर्नेछ ।

लाइभ स्ट्रिमिङ रणनीति

व्यापारमा परेको बाधाले चिनियाँ निर्यातकहरूलाई नयाँ बिक्री रणनीति अपनाउन बाध्य बनाएको छ ।

शाङ्घाइ नजिकैको निङ्बोमा आधारित खेलकुद पोशाक निर्माता वुडस्वुलले चीनमा अनलाइन बिक्री सुरु गरेको छ । करिब एक हप्ता पहिले सुरु गरिएको यो बिक्री च्यानलबाट कम्पनीले ३० भन्दा बढी अर्डर प्राप्त गरेको छ, जसको कुल मूल्य ५,००० युआन (६९० डलर) भन्दा बढी छ ।

यो हराएको व्यापारलाई बचाउने एउटा सानो प्रयास हो ।

'हाम्रो सबै अमेरिकी अर्डर रद्द गरिएका छन्,'वुडस्वुलका फ्याक्ट्री म्यानेजर तथा ब्रान्ड निर्देशक ली यानले भने ।

पहिले उत्पादनको आधा भाग अमेरिकी बजारमा जान्थ्यो । अब नयाँ बजार बनाउन कम्पनीलाई दुईदेखि तीन महिना लाग्ने लीले बताए । कम्पनीले २० वर्षभन्दा बढी युरोप, अस्ट्रेलिया र अमेरिकाका ग्राहकहरूलाई सेवा दिएको थियो ।

लाइभ स्ट्रिमिङ प्रयास बेइजिङको निर्देशनमा चिनियाँ प्रविधि कम्पनीहरूले घरेलु बजारमा सामान पुनर्निर्देशन गर्न गरेको प्रयासको हिस्सा हो ।

वुडस्वुलले बाइडुमार्फत आफ्नो उत्पादन अनलाइन बेचिरहेको छ, जहाँ खोज इञ्जिन एपमा पनि लाइभस्ट्रीमिङ इ-कमर्स प्लेटफर्म छ । लीले बाइडुमा भर्चुअल हुमन लाइभ स्ट्रिमिङ सुविधा छनोट गरेको बताए, जसबाट दुई हप्ताभित्र बिक्री सुरु गर्न सकिएको थियो ।

बाइडुले यो महिनाको सुरुवातमा कम्तीमा केही सय चिनियाँ व्यवसायहरूलाई घरेलु ई–कमर्स च्यानल सुरु गर्न मद्दत गरेको जनाएको छ, जसमा १० लाख व्यवसायका लागि अनुदान र निःशुल्क एआई उपकरण जस्तै ‘हुइबोक्सिङ’ भर्चुअल हुमन्स प्रदान गर्ने घोषणा गरिएको थियो । यी भर्चुअल ह्युमन्सले ग्राहकसँगको अन्तरक्रिया स्वचालित बनाउन प्रयोग गरिन्छ ।

घरेलु बजारको चुनौती

ई-कमर्स कम्पनी जेडी.कमले २०० अर्ब युआन (२७.२२ अर्ब डलर) बराबरको चिनियाँ निर्यात सामग्री किन्ने र त्यसलाई चीनमै बिक्री गर्ने योजना घोषणा गरेको थियो । खाना वितरण कम्पनी मिटुआनले पनि निर्यातकर्ताहरूलाई घरेलु बजारमा वितरण गर्न मद्दत गर्ने योजना सार्वजनिक गरेको छ ।

तर यो २७.२२ अर्ब डलर भनेको अमेरिका निर्यात गरिएको कुल ५२४.६६ अर्ब डलरको मात्र ५ प्रतिशत हो ।

'केही व्यवसायहरूले भनेका छन् कि १२५ प्रतिशत शुल्कमा उनीहरूको व्यापार मोडेल काम गर्न सक्दैन,' चीनस्थित अमेरिकी वाणिज्य चेम्बरका अध्यक्ष माइकल हार्टले शुक्रबार भने । उनले पछिल्लो हप्ता चिनियाँ कम्पनीहरूबीच प्रतिस्पर्धा बढेको पनि बताए ।

उनका अनुसार दुबै देशका शुल्कहरू कुनै न कुनै स्तरमा रहिरहनेछन्, केही छुटसहित ।

अमेरिकाको उपनगर ग्राहक (सहर नजिकैको क्षेत्र) का लागि डिजाइन गरिएका उत्पादनहरू सिधै चिनियाँ अपार्टमेन्ट बासिन्दाका लागि उपयुक्त नहुन सक्छन् ।

चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्महरू रेड नोट र डोउयिन (टिकटकको स्थानीय संस्करण) मार्फत उपभोक्ताहरूलाई समर्थनको लागि आग्रह गरिए तापनि थकान बढ्दै गएको चोजान नामक चिनियाँ मार्केटिङ परामर्श संस्थाकी संस्थापक एश्ली डुडारेनोकले बताइन् ।

अमेरिकाबाहिर बजार हेर्दै

अहिले चिनियाँ कम्पनीहरूले तेस्रो मुलुकमार्फत अमेरिकी बजारमा सामान पठाउने प्रयास कम गरिरहेका छन्, किनकि अमेरिका ट्रान्सशिपमेन्टमा कडा निगरानी गरिरहेको छ । धेरै कम्पनीहरूले भारत र दक्षिण–पूर्व एसियामा उत्पादन केन्द्र स्थानान्तरण गरिरहेका छन् भने केही युरोप र ल्याटिन अमेरिकातिर ग्राहक खोजिरहेका छन् ।

केही कम्पनीहरूले पहिले नै अन्य व्यापार मार्गमा व्यवसाय बनाइसकेका छन् ।

लियु सुले बेइजिङ मिङयुचु नामक ई-कमर्स कम्पनी सञ्चालन गर्छन्, जसले ब्राजिलमा बाथरुम उत्पादनहरू बेच्दछ । यद्यपि विनिमय दर र ढुवानी लागतको उतार-चढावले चुनौतीहरू दिएको उनले बताए । ब्राजिलसँगको व्यापार चीन-अमेरिका तनावबाट खास प्रभावित नहुने अपेक्षा उनको छ ।

२०१८ देखि २०२४ सम्म चीनबाट ब्राजिल र घानामा निर्यात दोब्बर भएको छ ।

कोभिड महामारीको समयमा घानामा आधारित कोट्री लजिस्टिक्स स्थापना भएको थियो, जसले सामानको स्रोत व्यवस्थापन र ढुवानी संयोजनमा मद्दत गर्छ । सीईओ ब्राइट टड्ज्र्रोहका अनुसार, कम्पनी अहिले वार्षिक ३ लाख देखि १० लाख डलरसम्म आम्दानी गर्छ ।

अमेरिकी ट्यारिफलाई लिएर लचिलो बन्दै चीन

ट्रम्पको ट्यारिफको असर जर्मनी, बेलायत र दक्षिण कोरियासम्म देखिन सुरु

ट्यारिफ युद्धको धुवाँ सेलाउँदै, अमेरिका र चीन वार्तातर्फ उन्मुख

अमेरिकामा बढ्दो जोखिमको डरले स्वीस बैंकमा खाता खोल्नेको संख्या बढ्दै

Share News