सुदूरपश्चिमको धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी देशको एक सफल सहकारीका रुपमा परिचित छ । विगतमा बचत र ऋणको कारोबारमा सीमित नवजीवन अब उत्पादनमा पनि जोड दिँदैछ । सेयर सदस्यको जीवनशैलीसँगै व्यावसायिक बनाउन तीन दशकदेखि अनवरत रुपमा काम गर्दै आइरहेको यो सहकारीले चामल उत्पादन गरेर बजारमा पुर्याइसकेको छ । देशभरका बचतकर्ता सडकमा र सञ्चालकहरु फरार अवस्थामा रहेको बेला नवजीवन भने एकपछि अर्को उत्पादनका काम गर्न उत्प्रेरित भइरहेको छ । सहकारीको समग्र विषयमा केन्द्रीत रहेर नवजीवन सहकारी संस्थाका अध्यक्ष देवबहादुर बमसँग विकासन्युजका लागि सन्तोष रोकायाले कुराकानी गरेका छन् ।
अहिले देशका अधिकांश सहकारीहरु समस्यामा परिरहेको बेला नवजीवन सहकारीको वित्तीय सूचकहरु झन् सकारात्मक बनिरहेका छन्, नयाँ-नयाँ काम गर्दै हुनुहुन्छ, यो किसिमको सफलता कसरी प्राप्त गर्नुभयो ?
नवजीवन सहकारी संस्था लिमिटेड वि.सं २०५० मंसिर ३० गते स्थापना भयो । हाम्रा १४ जना अग्रजहरुले सामुदायिक बचत कोषबाट स्थापना गर्नुभयो । ६४ जना अग्रजहरुले सहकारी विभाग, नेपाल राष्ट्र बैंकबाट बैंकिङ इजाजतपत्र पाउने नेपालको पहिलो सहकारी संस्था नवजीवन बन्यो । आज सडकमा सहकारीका मान्छेहरु भौतारिरहेका छन् । सञ्चालक र कर्मचारीहरु जेलमा छन् । कतिपय सञ्चालक तथा कर्मचारीहरु अझै जानेवाला छन् । तर, हाम्रा अग्रजहरुले दुरदर्शी तरिकाले ५० सालमा जुन नियम तथा विधान बनाउनुभयो, त्यो विधानमा सञ्चालकहरुले घरपरिवारका लागि ऋण लिन नपाउने व्यवस्था, अध्यक्ष तथा उपाध्यक्षको दुई कार्यकालभन्दा बढी हुन नपाउने नियम बनाउनु भएको थियो । जुन नियम सरकारले बल्ल कार्यान्वयन गर्दैछ ।
६४ जनाले स्थापना गरेको संस्थामा आज ३६ हजार २ सय ५० भन्दा बढी सेयर सदस्यहरुलाई आवद्ध गराउन सफल भएका छौं । तीन वर्षभन्दा अगाडि मात्रै चुनावी साधारणसभामा वर्तमान सञ्चालक समिति २७ हजार सेयर सदस्यले हामीलाई निर्वाचित गरेर पठाउनुभयो । हामीले तीन वर्षमा रातदिन नभनिकन लगनशीलका साथ नेपालको एक नम्बर कसरी बनाउने भन्ने उद्देश्यका साथ वर्तमान सञ्चालक समिति लागेको छ । यो अवधिमा ९ हजार बढी सदस्य वृद्धि गर्न सफल भयौं ।
तीनवर्ष अगाडि हामीले ३ अर्बको कारोबार गरेका थियौं । २९ वर्षमा तीन अर्बको कारोबार गरियो भने तीन वर्षमा सतप्रतिशत ६ अर्बभन्दा बढीको काम गरियो । दुई वर्षसम्म कोरोना कहरका कारण आर्थिक मन्दी लाग्यो । तर, नवजीवनमा त्यस्तो मन्दी देखिएन । हामीले नवजीवनका कर्मचारीलाई तालिम प्रशिक्षणको व्यवस्था गरेका छौं । सम्पत्ति शुद्धीकरणको ४ वर्षदेखि नै छुट्टै विभाग गठन गरेका छौं । विभागले गरेका काम सहकारी ऐनमा गरेका सिद्धान्तहरुलाई लागु गरेका छौं । सहकारी भनेको बचत गर्ने ऋण लगानी गर्ने संस्था मात्रै होइन् । सहकारी बंलादेशमा जस्तै हुनुपर्छ । बंलादेश सहकारीको क्षेत्रमा कसरी सफल भएको छ । यो उदाहरणलाई हेर्न जरुरी छ । यसैगरी भारतको अमूल दुध युरोपको बजारमा कसरी बिक्री भइरहेको छ । यो हामीले हेर्नुपर्छ ।
ढिलै भएपनि नवजीवनको वर्तमान सञ्चालक समितिले किसानसँग उत्पादनसँग जोड््नका लागि किसानको घरबाट धान किनेर भण्डारीकरण गरेका छ । नवजीवनको आफ्नै जमिन, गोदाम र मिल छ । हामीले उत्पादन गरेको चामल बजारीकरणको लागि काठमाडौंमा अन्तरक्रिया तथा छलफल गरेका छौं । यो अर्गानिक चामल हो । किसानलाई उचित मूल्य दिएर धान खरिद गरेका छौं ।
नवजीवन सहकारीमा तपाईंको आवद्धता कसरी भएको थियो, यो संस्थाको अध्यक्ष बन्न कसरी सफल हुनुभयो ?
वि.सं २०५१ सालमा मैले नवजीवनको सदस्यता लिएँ । २०५२ सालमा घर नदीको किनारमा थियो । मैले घर बनाउनका लागि एक लाख ऋण लिने प्रयास गरेँ । तर, नवजीवनबाट ऋण पाइएन । त्यसपछि मैले कृषि बैंकबाट कारोबार सुरु गरेँ । सामाजिक काममा पनि सक्रिय बनेँ । चुनाव आएपछि नवजीवनको सञ्चालक समितिमा बस्नुपर्छ भन्ने मनसाय जाग्यो । सञ्चालक समितिको सदस्य बनेँ ।
चार कार्यकाल सञ्चालक बनेँ । १४ वर्ष यो संस्थाको सञ्चालक समितिको सदस्य भएर काम गरेँ । मेरो काम देखेर त्यहाँका सेयर सदस्यहरुले विश्वास गरे । विश्वास गरेकै कारणले म नवजीवनको अध्यक्षको चुनाव लड्दै जाँदा बलिया खालका साथीहरु अर्को टीम थिए । कमजोर खालको नेतृत्व मेरो थियो । तर, सेयर सदस्यहरुले विश्वास गरेर मलाई अत्यधिक मतले विजयी गराए । मैले जितेको दिनदेखि नवजीवनलाई देशको एक नम्बर सहकारी कसरी बनाउने भनेर म निकै चिन्तित भएँ । म निरन्तर लागेँ ।
हाम्रो सम्पूर्ण टीमले सुदुरपश्चिममा रहेका बौद्धिक व्यक्तित्वहरुलाई सल्लाहकारमा ल्याउनुपर्छ भन्ने निर्णय गर्यौं । प्रा.डा हेमराज पन्त, डा.जीवन राना, डा. गोविन्दराज जोशी, महेश्वर पाठक, प्राध्यापक जनकराज जोशी, चक्रबहादुर सिंह, सरोजकुमार पोखरेल, करुणाकर पाण्डे लगायत ११ जनालाई सल्लाहकार बनायौं । मेरा लागि उहाँहरु प्रेरणाको स्रोत हुनुहुन्छ । मलाई कुनै अफ्ठ्यारो पर्यो भने उहाँहरुको सल्लाहमा काम गर्छु ।
नवजीवन सहकारीले कैलाली र सिंगो सुदूरपश्चिमका जनताको जीवनशैलीमा के कस्तो प्रभाव पार्न पार्यो ? सेयर सदस्यको आकर्षण कस्तो छ ?
नवजीवन सहकारीप्रति सुदुरपश्चिमका जनताले विश्वास गरेका छन् । त्यहाँ सरकारी तथा निजी गरेर ५२ वटाभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु छन् । ती बैंकहरु हुँदाहुँदै पनि नवजीवन सर्वसाधारणको रोजाइमा परेको छ । हाम्रा अग्रजहरु शुद्ध पवित्र मनले लागिरहनुभएको थियो । अरु बैंकहरु भागेर जान सक्छन् तर नवजीवनको आफ्नै घर, घडेरी छ । त्यहाँ सञ्चालक पनि हाम्रै मान्छे छन् भन्ने विश्वास उनीहरुमा छ ।
सुदुरपश्चिममा सबै बैंकहरुमध्ये सबैभन्दा बढी कारोबार गर्ने राष्ट्रिय वाणिज्य बैंक हो । वाणिज्य बैंकले वार्षिक ४ अर्बभन्दा बढीको कारोबार गर्छ । उसो त हामी सहकार्य गरेर जाने सहकारी हौं तर सहकारीमा हामीले वाणिज्य बैंकभन्दा तीन अर्ब बढीेले कारोबार गछौं । यसको प्रमुख कारण भनेको जनताको अत्यधिक विश्वास छ ।
त्यसोभए सुदुरपश्चिममा नवजीवनले बैंकहरुलाई चुनौती दिइरहेको छ ?
हो, हामीले सबै बैंकहरुलाई चुनौती दिइरहेका छौं । हाम्रो सेवा सुविधा भन्ने हो भने हामीले कसैलाई ५ लाख चाहिएको छ भने ठाडो रोक्का गरेर त्यही दिन पैसा दिने व्यवस्था गरेका छौं । ठुलो फाइल छ भने ३ दिनदेखि ५ दिनसम्ममा दिने व्यवस्था गरेका छौं । सेवाग्राहीलाई हाम्रो बैंक हो भन्ने बनाएका छौं । सेयर सदस्यले एक लाख रुपैयाँदेखि ६ करोड रुपैयाँ ऋणका लागि बाहिर कुनै पनि बैंकमा जानुपर्दैन । हामीले सिस्टम बनाएका छौं । अहिले पनि हामीसँग एक अर्ब ५० करोडभन्दा बढी तरलता छ । सेयर सदस्यले बचत गरिरहेका छन् । नेपाल सरकारको कर्मचारी तथा राष्ट्र बैंकको कर्मचारी अवकास हुँदा बैंकमा पैसा राख्दैनन्, नवजीवन रोज्छन् । नवजीवनको २ अर्बभन्दा बढीको अचल सम्पत्ति छ ।
नवजीवन सहकारीको चुनाव सबैलाई लाग्छ, एक किसिमको आकर्षण यो संस्थामा छ, यो किसिमको चर्चा किन हुन्छ ?
समाजमा विभिन्न लोभलालच भएका मान्छेहरु हुन्छन् । नवजीवनको चुनावमा पनि चुनावी नारा लगाउने गरेका छन् । गठबन्धन गर्छन्, आरोप प्रत्यारोपमा उत्रिन्छन् । काम गर्ने मान्छेलाई काम गर्न दिँदैनन् । अहिले मलाई पनि अख्तियारमा १० वटा मुद्धा छ । जबकि म आफ्नै गाडीमा चढ्छु । आफ्नै गाडीको मर्मतको पनि बिल लिएको छ भन्छन् । तर, त्यो कुरा जनताले बुझेका छन् । मलाई हराउनका लागि पनि विभिन्न दलका गठबन्धन बनाए । तर, त्यहाँका बासिन्दाले यो मान्छे इमान्दार छ, यसलाई सहयोग गर्नुपर्छ भन्ने महसुस गरे । उहाँहरुको विश्वासले नै अहिले काम गर्ने उत्प्रेरणा मिल्छ । नवजीवनको १० वटा सेवा केन्द्र छन् । ती सेवा केन्द्रमार्फत काम भइरहेको छ ।
बजारमा भारतबाट आएको चामल छ व्यापारीसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । यस्तो अवस्थामा पनि नवजीवन टिकेको छ । टिक्नुुको एउटै कारण के हो हाम्रा सेयर सदस्यहरुले हामीलाई विश्वास गर्नुभएको छ । हामी यो विश्वासलाई हामी टिकाइ राख्ने छौं ।
कतिपयले नवजीवनमा सर्वसाधारणको प्रवेश हुन सक्दैन, केही हुने खाने वर्गले मात्रै यो सहकारीको सदस्य बन्न पाउँछन् भन्ने आरोप पनि छनि ?
यो कुरा कपोकल्पित हो । झुठो हो । सहकारीमा म केही गर्छु भन्ने मानसिकता भएका मान्छेहरु छन् । ८ सय ८२ परिवार छन् । नवजीवन सहकारीमा ३६५ दिनमै सेयर सदस्य लिन पाउने व्यवस्था छ । यो सधैं जारी रहन्छ । जसमा सामान्य मान्छे मजदुर गरेर खानेदेखि अटो चलाउने, सामान्य व्यापार व्यवसाय गर्ने व्यक्तिहरु आवद्ध छन् । नवजीवन सहकारीमा ठूला मान्छे मात्रै भएको भए ३६ हजार कहाँबाट पुग्थे ? आगामी वर्ष साधारणसभामा हामीले ४० हजार सदस्य पुर्याउने लक्ष्य राखेका छौं । काठमाडौंमा सेवा केन्द्र खोल्नसाथ २ हजारभन्दा बढी थपिन्छन् । चुनावी प्रक्रिया पनि काठमाडौंमै गर्छौं । हामीले सहकारी विभागका रजिष्ट्रार, प्राधिकरणका अध्यक्ष र सहकारीमन्त्री ज्यूसँग पनि कुरा गरिसकेका छौं । अब काठमाडौंमा सेवा केन्द्र खोल्छौं ।
नवजीवनको सदस्य बनेपछि एउटा सामान्य व्यक्तिको जीवनशैलीमा केकस्तो परिवर्तन देख्नु भएको छ ?
जन्मदेखि मृत्युसम्म नवजीवनका सेयर सदस्यहरुलाई विभिन्न सेवा सुविधा दिन्छौं । जुन सेवा सुविधा देशभरिका कुनै पनि सहकारीले दिँदैनन् । महिला सेयर सदस्यहरुलाई गर्भवती हुनसाथ ५ हजार सेवासुविधा दिने व्यवस्था छ । सेयर सदस्यहरु बिरामी हुँदा जुनसुकै ठाउँमा उपचार गरे पनि त्यसको भर्नादेखि डिस्चार्ज गरेको डकुमेन्ट दिएपछि महिनामा एक पटक फाइल चेक गरी डाक्टर बोलाएर सामान्य प्रकारको हो भने १० हजार, मध्यम खालको हो भने २० हजार र जटिल खालको हो भने ३४ हजारसम्म आर्थिक सहयोग गर्ने गरेका छौं । शरिरको अंग प्रत्यारोपण गर्नुपर्यो भने त्यस्तो अवस्थामा एक लाख रुपैयाँसम्म फिर्ता नहुने गरी सहयोग गर्ने गरेका छौं । सेयर सदस्यको मृत्यु भएमा अन्तिम दाहसंस्कार भनेर खर्च दिनेका गरेका छौं ।
नवजीवनले कमाएको पैसा २५ प्रतिशत जगेडा कोषमा राख्ने गरेको छ । बचेको पैसाको सतप्रतिशत गरेर फेरी २५ प्रतिशत संरक्षित पुँजी कोषमा राख्छौं । संस्था बलियो बनाउनका लागि अग्रजहरुले जगेडा कोषमा राख्ने व्यवस्था गरेको थियो । वर्तमान समिति आइसकेपछि नवजीवन धेरै बलियो भएको छ । संस्थासँग चाहिनेभन्दा बढी पैसा छ । पहिलो वर्ष २ करोड ९ लाख संरक्षित पुँजी कोषबाट सेयर सदस्यहरुलाई फिर्ता गरेका थियौं । गत वर्ष २ करोड १९ लाख वितरण गरेका छौं । नवजीवन सुदूरपश्चिममा सबैभन्दा बढी कर तिर्ने संस्थाका रुपमा पनि सम्मानित भइरहेको छ । संस्थामा १३५ जना स्थायी कर्मचारी १५ जना करारका कर्मचारी छन् । उनीहरुको सेवा सुबिधा पनि राम्रै छ । कर्मचारीमा पनि एउटा राम्रो प्रणाली बनाएका छौं ।
विगतको सामान्य मान्छेलाई आज नवजीवनले राम्रो व्यवसायी बनाएको छ । तीन हजार बढी त्यस्ता उदाहरण छन् । धनगढीमा मष्टा इलेक्ट्रोनिक छ, त्यसको सञ्चालक पहिले अरुको घरमा काम गर्नुहुन्थ्यो । थोरै रकम लिएर नवजीवनबाट व्यवसाय सुरु गर्नुभयो । अहिले सुदुरपश्चिममा मष्टा इलेक्ट्रोनिकका सञ्चालक सबैभन्दा ठूलो व्यापारी बन्नु भएको छ । हिजो तरकारी बेच्ने मान्छेहरु आज तरकारीको व्यवसाय गर्नुहुन्छ । अर्काको कुखुरा फर्ममा ज्यालादारी गरेर काम गर्नेहरु आज ४ हजार कुखुरा पालेर एउटा मालिकको रुपमा स्थापित हुनुभएको छ । हिजो अरुको रिक्सा चलाउनेहरु आज आफ्नै अटो चलाएर हिँडिरहेका छन् । यस्ता थुप्रै उदाहरणहरु छन् । जुन नवजीवनले थुप्रै जनता जीवनमा कायापलट गरिदिएको छ ।
तपाईंले नवजीवनलाई देशको नम्बर वान सहकारी बनाउने उद्देश्य लिनु भएको छ, त्यसका लागि के काम गर्दै हुनुहुन्छ, त्यो कसरी सम्भव हुन्छ ?
हामी सेयर सदस्य बढाउनका लागि काम गरिरहेका छौं । सेयर सदस्य पनि गुणस्तरीय बनाउँछौं । १ हजारको सेयर दिएर लाखौँ जनताको बनाउनुभन्दा घटीमा ५ हजारको गरेपछि एक क्वालिटीका सदस्यहरु पनि हुन्छन् भन्ने हो । नेपालको एक नम्बर सहकारी बनाउनका लागि उत्पादन नगर्नुको उपाय नै छैन ।
वर्तमान सञ्चालक समितिले हिम्मत गरेर मिल बनाएको छ । गोदाम बनाएको छ । अग्रजहरुले किनेको जग्गालाई एउटा आकार दिएका छौं । हामीले कर्मचारी पनि धेरै राखेका छैनौं । मितव्ययिता पनि अपनाएका छौं । अब हामी निकट भविष्यमै तोरीको तेल मसुरको दाल पिठो मिनिरल वाटर उत्पादनमा जान्छौं । किसानले बिक्री गर्दा २८ सय रुपैयाँ क्विन्टल पर्ने गरेको छ भने व्यापारीले ६ महिनापछि बेच्दा ३२ सय क्विन्टल पर्ने आखिर किसानले उत्पादन गरेर के पाए त ? नवजीवनले त कम्तिमा यो वर्ष ३२ सयमा धान किन्यो । नवजीवनले बजारको मूल्यभन्दा बढी दियो भन्ने खालको भयो । हामीले हाम्रै सेयर सदस्यलाई दियौं ।
चामलको ब्राण्डिङ, बजारीकरण र लगानीको विषय के कस्तो छ ?
उद्योग विभागबाट ट्रेडमार्क ल्याएर काम गरिरहेका छौं । विभागबाट ट्रेडमार्क लिने हामी दोस्रो सहकारी हो । अहिले ६ करोडको धान खरिद गरेका छौं । ५३ लाखको मिल घर बनाएका छौं । ५६ लाखमा प्लान्ट जडान गर्यौं । डेढ करोडमा मिल घर, प्लान्ट, ट्रान्समिटर बिजुलीको तारहरु जडान गरिसकेपछि यसलाई नवजीवनको छुट्टै उद्योग अर्थात् नवजीवन ग्रामका रुपमा विस्तार गर्दैछौं । हामी अवलोकनका लागि बंलादेश र भारत भ्रमणमा जान्छौं । नेपालका सहकारीले पनि भ्रमणका लागि अब विदेश जानु पर्दैन् । धनगढीको नवजीवनमै उद्योग ग्राम कस्तो छ भनेर ७७ जिल्लाकै सहकारीहरुले अवलोकन गर्न सकिने व्यवस्था हामी गर्छौं ।
सुदूरपश्चिमा सेवा विस्तार गर्ने सहकारी तथा लगानी गर्ने अन्य उद्योगी व्यवसायीलाई तपाईंको सन्देश के छ ?
सुदुरपश्चिम खाद्यान्न, जडीबुटी, काठ जल लगायतकोे भण्डार हो । हरेक चिजवस्तु त्यहाँ छ । सुदुरपश्चिम प्रदेशमा दूइटा मिल सञ्चालनमा छन् । मैदा मिलहरु छन् । चामलका प्लान्टहरु छन् । अहिले नेपालको तेस्रो ठुलो १ अर्बको चामल मिल पनि उद्घाटन भएको छ । देशभरिका उद्योगीहरुका लागि सुदुरपश्चिम उर्वरभूमि हो । बाँके, बर्दिया, कैलाली र कञ्चनपूरबाट कुनै बेला धान, मकै र गहुँ भारतमा निर्यात हुन्थ्यो । जुन रेसियोमा उद्योगहरु यो क्षेत्रमा खुल्नु पर्ने थियो त्यो अवस्था छैन । सुदूरपश्चिममा हिजोको दिनभन्दा बैंक, वित्तीय संस्था, बीमा कम्पनी थिएनन् । अब पर्याप्त मात्रामा छन् । व्यावसायिक वातावरण बनिसकेको छै । व्यवसायीहरुको नजर अब सुदूरपश्चिममा पनि पर्नुपर्छ ।
नवजीवनले जुन किसिमको सफलताको स्वाद सदस्यलाई चखाइरहेको छ । त्यस्तै स्वाद देशभरिका सहकारीहरुले आफ्ना सदस्यहरुलाई चखाउन के गर्नुपर्छ होला ?
मेरो बुझाईमा जबसम्म सञ्चालक समितिहरु नीतिमान हुँदैनन्, तबसम्म जति भाषण गरे पनि हुनेवाला छैन । बनेका नीति नियमलाई कर्मचारीले कार्यान्वयन गर्न सक्नुपर्यो । कर्मचारीले पनि हाम्रो रोजीरोटी हो भन्ने बुझ्न जरुरी छ । संस्था राम्रो बनाउनका लागि सञ्चालक र कर्मचारीबीच तालमेल मिल्नुपर्छ । हामीले नीति सही बनाउनुपर्छ । त्यो नीति कार्यान्वयन गर्ने कर्मचारीले हो । ऐन, विभाग र मन्त्रालयले गरेका निर्देशनलाई पनि प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । बजारमा भइरहेको अभ्यास र अनुभवलाई पनि आत्मसात् गर्नुपर्छ ।
सहकारीमा मकै पोलेर र रिक्सा चलाएर जुन पैसा जम्मा भएको हुन्छ, त्यो पैसालाई ठूल्ठूला हाइड्रोपावरहरुमा लगानी गर्नु हुँदैन । देशभरिका सबै सहकारी राम्रा भए भने देश सहकारीमय बन्छ ।
नवजीवनले विपन्न मजदुर गरिखाने नागरिकलाई प्राथमिकता दिइरहेका छ । कृषकलाई प्राथमिकता राखेको छ । किसानलाई उत्पादनसँग जोडिरहेको छ । हामी बैंकसँग प्रतिस्पर्धा गरिरहेका छौं । सहकारीको र्ममअनुसार अगाडि बढिरहेका छौं ।
नवजीवनलाई देशकै नम्बर वान सहकारी बनाउने भन्दै हुनुहुन्छ, त्यो कहिलेसम्म सम्भव होला ?
धेरै समय लाग्दैन । सगरमाथाको चुचुरोमा पुग्न एक सय मिटरमात्रै बाँकी छ । किनकि नवजीवनको सबै संरचना बनिसकेको छ । आफ्नै जमिन र प्रयाप्तमात्रामा पैसा छ । नवजीवनलाई आगामी दुई/तीन वर्षभित्र देशको एक नम्बर सहकारी बनाउन सकिन्छ । यसमा हामीलाई सदस्य र सरकारको पनि सहयोग चाहिन्छ ।