एजेन्सी । स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति ठप्प हुँदा जनजीवन अस्तव्यस्त बनेको छ । अचानक आएको ठूलो विद्युत् संकटका कारण एयरलाइन्स, मेट्रो, रेल सेवा र सडक यातायात प्रभावित भएका छन् ।
स्पेनको विद्युत् कम्पनी रेड इलेक्ट्रिकाले देशभर बत्ती जानु र आपूर्ति पुनःस्थापना गर्न प्रयास जारी रहेको जनाएको छ । यता, पोर्चुगलको एयरलाइन्स टीएपी एयरले यात्रुहरूलाई अर्को सूचना नआएसम्म विमानस्थल नजान आग्रह गरेको छ ।
स्पेन र पोर्चुगल दुवै देशका अधिकारीहरूले साइबर आक्रमण भएको कुनै संकेत नभएको स्पष्ट पारेका छन् । पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले र युरोपेली परिषद्का अध्यक्षले पनि विद्युत् संकटको पछाडि साइबर हमलाको आशंका नगर्न आग्रह गरेका छन् ।
स्पेनमा म्याड्रिड ओपन टेनिस प्रतियोगिता स्थगित गरिएको छ भने लिस्बन र पोर्टोका मेट्रो सेवा र रेल सेवा ठप्प छन् । सडक यातायातमा ट्राफिक बत्तीहरू बन्द हुँदा अव्यवस्था देखिएको छ ।
बिजुली आपूर्ति पूर्ण रूपमा सामान्य हुन एक हप्ता लाग्न सक्ने बीबीसीले उल्लेख गरेको छ । स्पेनका केही भागमा बत्ती फर्किए पनि रेल सेवा अझै सञ्चालनमा आएको छैन । म्याड्रिड मेट्रोका सबै लाइनहरू बन्द गरिएका छन् ।
यस संकटपछि स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले राष्ट्रिय सुरक्षा सम्बन्धी विशेष बैठक बोलाएका छन् । स्थानीय प्रशासनले नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न र जहाँ छन् त्यहीँ बस्न आग्रह गरेको छ ।
यात्रुहरू रेलबाट झारिएको, विमानस्थलमा उडानहरू रद्द भएका, र इन्टरनेट तथा मोबाइल सेवामा समेत अवरोध आएको जनाइएको छ ।