एआईदेखि ईभीसम्मः नवप्रवर्तनमा विश्वको ध्यान खिच्दै चीन

शाङ्घाई अटाे शाेमा राखिएकाे फ्लाइङ कार जुन बाटाेमा पनि गुडाउन सकिन्छ ।

काठमाडौं । व्यापार तनावको चर्चाले ध्यान तानेको भए पनि चीनको प्रविधि क्षेत्र तीव्र रूपमा अघि बढिरहेको छ । कृत्रिम बौद्धिकता (एआई), विद्युतीय सवारीसाधन (ईभी) र भिडियो प्रविधिमा निरन्तर नवप्रवर्तनसहित चीनले विश्वभरको ध्यान तानिरहेको छ ।

शाङ्घाई अटो शो २०२५ को उद्घाटन अवसरमा चिनियाँ विद्युती सवारी निर्माता बीवाईडीले एकैचोटि पाँच नयाँ मोडेल सार्वजनिक गर्यो । यता जीक्रले नयाँ हाइब्रिड नाइन एक्स एसयूभी प्रदर्शन गर्यो । त्यस्तै, स्वचालित गाडी सेवा प्रदायक पोनी डट एआईले ७० प्रतिशतसम्म लागत घटाउने दाबीसहित तीन नयाँ सवारीसाधन सार्वजनिक गर्यो ।

टेक कम्पनी हुवावेले पनि ड्राइभर सहायता प्रणालीमा प्रगति भएको जनाएको छ, जसले सवारीसाधनलाई स्वतः पार्क गराउन सक्छ ।

'प्रतिस्पर्धाले चीनको नयाँ ऊर्जा सवारी क्षेत्रमा आश्चर्यजनक नवप्रवर्तन ल्याएको छ,’ सानो अटो इन्साइट्सका टुले भन्छन्, 'हामीले एक दशकपछि मात्र सम्भव ठानेका प्रविधिहरू आज प्रयोगमा छन् ।’

एआई र भिडियो प्रविधिको युग

चीनको नेटफ्लिक्स भनेर चिनिने आईचिकी (iQiyi)ले एआई प्रयोगमार्फत टिभी कार्यक्रमको उत्पादन लागत घटाउने र रूपान्तरण प्रक्रियालाई सहज बनाउने उपकरण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार अहिलेको प्रविधिले थ्रीडी एनिमेसनमा रूपान्तरणमा स्थिरता र समानता सुनिश्चित गर्न सक्षम भएको छ ।

त्यस्तै, भिडियो प्लेटफर्म कुआइशोउ (Kuaishou) ले एआई मोडेल क्लिङ (Kling) को नयाँ संस्करण सार्वजनिक गरेपछि यस्तो प्रविधिले हलिउडजस्ता क्षेत्रहरूलाई चुनौती दिन सक्ने चिन्ता व्यक्त गरिएको छ ।

त्यसपछि अलिबाबा, शेङ्गशु टेक्नोलोजीलगायतका कम्पनीहरूले पनि सिनेम्याटिक गुणस्तरका एआई भिडियो मोडेलहरू ल्याएका छन् ।

मोनोलिथ म्यानेजमेन्टका सह–संस्थापक टिम वाङ भन्छन्, 'एआई क्षेत्रमा चीनको लगानी तीव्र गतिमा बढेको छ र मुलभूत मोडेलहरूमा भएको उपलब्धीहरूले चीनलाई विश्व नेताहरू नजिक पुर्याइरहेका छन् ।’

ई-कमर्स र कार्यक्षमता वृद्धि

निर्यातकर्ताहरूले पनि प्रविधिमा निर्भरता बढाएका छन् । बाइडूको एआई आधारित ‘भर्चुअल मानव’ प्रविधिले स्ट्रिमिङ लागत ८० प्रतिशतभन्दा बढी घटाउने बताइएको छ । कम्पनीले नयाँ, अझ विश्वासिलो संस्करण सार्वजनिक गर्दै सस्तो मोडेलहरू पनि उपलब्ध गराएको छ ।

सरकारी नीति र प्रोत्साहन

एआई क्षेत्रमा चिनियाँ सरकारको नीति समर्थन पनि स्पष्ट देखिन्छ । डीपसीकले च्याटजीपीटी बराबरीको मोडेल ल्याएपछि चीनभित्रको एआई विकासको सम्भावनाप्रति आशा झन बलियो भएको हो । चीन सरकारले प्रविधि क्षेत्रमा स्टार्टअपहरूलाई आपूर्तिकर्तासँग जडान गर्न, वित्तीय सहायता पुर्याउन र विदेशी डाक्टरेटधारीहरूलाई आकर्षित गर्न उल्लेखनीय प्रोत्साहन घोषणा गरेको छ ।

यसमार्फत व्यक्तिगत रूपमा ३०-५० लाख युआन  (करिब ५ करोड ७० लाखदेखि ९ करोड ५० लाख नेपाली रुपैयाँ) नगद सहायता, ८ लाख युआन ( करिब १ करोड ५२ लाख नेपाली रुपैयाँ) को घर भाडा अनुदान र अनुसन्धानका लागि ३० लाख युआन (करिब ५ करोड ७० लाख नेपाली रुपैयाँ) सम्मको बजेट उपलब्ध गराइन्छ ।

चुनौती र सम्भावना दुवै

यद्यपि, गोल्डम्यान स्याच्सले अन्य क्षेत्रहरूमा वृद्धि नरहेको जनाउँदै आर्थिक चुनौतीलाई पनि औंल्याएको छ । युरोपेली संघको अनुसार, 'मेड इन चाइना २०२५’ का सबै लक्ष्य पूरा हुन सकेनन् र केही क्षेत्रमा अति उत्पादनले समस्या निम्त्याएको छ।
 
ईभी उद्योगमा पनि प्रतिस्पर्धा उच्च रहेकाले विकास केही स्थिर देखिएको छ । यद्यपि विश्लेषकहरू विश्वास गर्छन् कि चिनियाँ कम्पनीहरूको घरेलु प्रभुत्व र अन्तर्राष्ट्रिय विस्तार अझ व्यापक हुने सम्भावना प्रबल छ ।

ट्रम्प, मस्क र टेस्ला अनि ह्वाइट हाउसमा रमिता

Share News