काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालका १०० दिन पूरा भइसकेका छन् । तर आर्थिक मोर्चामा उनीले लिएका आक्रामक नीतिहरूले अमेरिका मात्रै होइन, विश्व अर्थतन्त्रलाई समेत झस्काइरहेको छ ।
एकपछि अर्को गर्दै विदेशी वस्तुहरूमा भारी प्रतिशोधात्मक शुल्क (रेसिप्रोकल ट्यारिफ) लगाउँदै आएका ट्रम्पले ९० दिनका लागि अस्थायी राहत दिएका छन्, तर यसले उठाएको आँधी अझै शान्त भएको छैन ।
मन्दीको सन्त्रास र महँगीको शंका
विश्वभरका बजारहरू उथलपुथलमा छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले धेरै मुलुकहरूको जीडीपी वृद्धि दरको अनुमान घटाएको छ । अमेरिकी सेयर बजारमा गिरावटले लगानीकर्ताहरूको अर्बौं डलर डुबेको छ ।
ट्रम्पको मूल मन्त्र 'अमेरिकालाई फेरि महान बनाउने' भए पनि अहिले अमेरिकी अर्थतन्त्र नै दिशाहीन देखिन थालेको छ ।
अविश्वास, अनिश्चितता र लगानी संकट
ट्रम्पको बारम्बार बदलिँदो नीति र ट्यारिफको कठोर दृष्टिकोणले बजारमा अनिश्चितता निम्त्याएको छ । विज्ञहरू भन्छन्- यस्तो अस्थिरता अमेरिका चाहँदैन । ट्यारिफले उपभोक्ताका लागि सामान महँगा बनाउँछ, कम्पनीको लागत बढाउँछ र लगानी रोकिएको देखिन्छ ।
अर्थतन्त्रको मेरुदण्डमै असर
ट्राभल उद्योगदेखि उपभोक्ता खर्चसम्म, असर व्यापक छ । डेल्टा एयरलाइन्सले आम्दानी पूर्वानुमान घटाएको छ भने एयरलाइन कम्पनीहरूले गर्मी सिजनको यात्रा कम हुने संकेत दिँदै उडानहरू कटौती गर्न थालेका छन् ।
एसएन्डपी ग्लोबलका अनुसार मात्र दुई महिनामा १२९ कम्पनीले टाट पल्टेको घोषण गरेका छन्- जुन २०१० यताकै उच्च हो ।
अमेरिका एक्लै युद्धको केन्द्रमा
अहिले ट्रम्पको नीति अमेरिका विश्वव्यापी व्यापार युद्धको केन्द्रमा छ । लगानीकर्ताहरू डलर र अमेरिकी कोषपत्रबाट पैसा हटाउँदै छन् । बजारमा अस्थिरता बढेको छ । यद्यपि बेरोजगारी दर घटेको र मुद्रास्फीति २.५ प्रतिशतको हाराहारीमा रहेको सरकारी तथ्यांकले केही सान्त्वना दिएको छ ।
चीनसँगको व्यापार युद्ध अझ चर्किँदै
अमेरिकाले चीनमाथि १४५ प्रतिशत ट्यारिफ लगाएको छ र चीनले पनि १२५ प्रतिशत ट्यारिफ लगाएको छ । परिणामस्वरूप पछिल्ला तीन हप्तामै अमेरिका-चीन बीचको ढुवानी ६० प्रतिशतभन्दा बढी घटेको बताइएको छ ।
यद्यपि हालसालै ट्रम्पको व्यवहार केही नरम देखिएको छ । उनी चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्ता चाहन्छन् ।
जनताको असन्तोष र चुनावी दबाब
एसएसआरएसको नयाँ सर्वेक्षणअनुसार ५९ प्रतिशत अमेरिकीले ट्रम्पको नीतिले अर्थतन्त्र बिगारेको ठानेका छन् । ६० प्रतिशतले महँगी बढेको भन्दै आक्रोश व्यक्त गरेका छन् भने ७० प्रतिशतले आगामी वर्ष मन्दीको डर व्यक्त गरेका छन् ।