काठमाडौं । टेस्लाका सेयरहरूमा रातभरको कारोबारमा करिब ३ प्रतिशतको गिरावट आएको छ । यो गिरावट लोकप्रिय ट्रेडिङ प्लेटफर्म रोबिनहुडमा देखिएको हो । कम्पनीको बोर्डले प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कको स्थानमा नयाँ नेतृत्व खोज्न थालेको समाचार बाहिरिएसँगै गिरावट आएको हो ।
वाल स्ट्रिट जर्नलले स्रोतहरूलाई उद्दृत गर्दै रिपोर्ट गरेअनुसार टेस्लाका बोर्ड सदस्यहरूले विभिन्न कार्यकारी खोज कम्पनीहरूलाई सम्पर्क गरेर नयाँ सीईओ नियुक्तिको प्रक्रिया सुरु गरेका छन् ।
यो निर्णय टेस्लाको व्यापारिक अवस्थासँग पनि जोडिएको देखिन्छ । कम्पनीको बिक्री तथा नाफा दुबैमा तीव्र गिरावट आएको छ । पहिलो त्रैमासिकको नतिजा विश्लेषकहरूको अनुमानभन्दा कमजोर देखिएको छ ।
कम्पनीका चर्चित संस्थापक एलन मस्कको गतिविधिले पनि टेस्लाको प्रतिष्ठामा असर पारेको बताइएको छ । मस्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सहकार्यमा संघीय सरकारलाई सानो बनाउने योजनामा व्यस्त देखिएका छन् ।
उनले गत साता आयोजित टेस्लाको आम्दानी घोषणा कार्यक्रममा आगामी मे महिनादेखि हप्तामा एक–दुई दिन मात्र टेस्लामा समय दिने बताएका थिए । बाँकी समय उनी ‘सरकारी दक्षता विभाग’ (डोज) सञ्चालन गर्न खर्च गर्नेछन् ।
आर्थिक विवरण अनुसार टेस्लाको कुल आम्दानी यो वर्षको पहिलो त्रैमासिक (जनवरी–मार्च) मा वार्षिक रूपमा ९ प्रतिशत घटेर १९.३४ अर्ब डलरमा सीमित भयो । यो संख्या विश्लेषकहरूले अनुमान गरेको २१.११ अर्ब डलरभन्दा कम हो ।
टेस्लाको शुद्ध नाफा ७१ प्रतिशतले घटेर ४०९ मिलियन डलर (प्रति सेयर १२ सेन्ट) मा सीमित भएको छ, जुन अघिल्लो वर्षको १.३९ अर्ब डलर (प्रति सेयर ४१ सेन्ट) भन्दा निकै कम हो ।
यो वर्षको सुरुवातदेखि नै कम्पनीका सेयरहरू ३०.१३ प्रतिशतले घटिसकेका छन् ।