वैशाख १८ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानी अभिवृद्धिका लागि लगानी दशक घोषणा गरी लगानीसम्बन्धी एकीकृत कानुन बनाइ लागू गर्न सरकारसँग आग्रह गरेका छन् ।
कोशी प्रदेश सरकारले पहिलोपटक विराटनगरमा आयोजना गरेको प्रदेश लगानी सम्मेलन- २०८२ को उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष ढकालले सो आग्रह गरेका हुन् ।
उनले आगामी १० वर्षलाई लगानी दशकको रूपमा घोषणा गर्न, लगानीसँग सम्बन्धित कानुनहरू वन, वातावरण र भूमिसमेत एकीकृत गरी एकीकृत लगानी संहिता बनाउन तथा विभिन्न निकायले फरक व्याख्या गर्ने क्रमको अन्त्य गर्नु पर्ने धारणा राखे ।
यस्तै, अध्यक्ष ढकालले लगानी र आर्थिक विकासका लागि नीतिगत स्थायित्व आवश्यकता रहेकोमा जोड दिए, ’लगानी र आर्थिक विकासका लागि नीतिगत स्थायित्व अबको आवश्यकता हो । राजनीतिक अस्थिरताका बीचमा पनि नीतिगत स्थायित्व हुँदा धेरै देशले विकास गरेका प्रशस्तै उदाहरणहरू छन् । सबै दलहरूले कम्तीमा अबको दश वर्ष नीतिगत परिवर्तन नगर्ने गरी सहमति गर्नुपर्छ । कानूनको अपव्याख्या गर्ने र एक अर्को कानुन बाझिने अवस्था अन्त हुनुपर्छ भन्ने हाम्रो धारणा छ,’उनले भने ।
अबको बजेट र मौद्रिक नीतिले लगानी सहजीकरणका विषयलाई प्रमुखताका साथ अगाडि बढाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले यसपटकको बजेट नयाँ चरणको आर्थिक सुधारको प्रस्थानविन्दु बन्नुपर्ने विचार व्यक्त गरे ।
व्यवसायको दर्ता नागरिक एपबाट हुने व्यवस्था गर्न, कर बुझाएको आधार स्वतः नवीकरण हुने व्यवस्था गर्न तथा विदेशी लगानीलाई अनलाइनबाट सबै प्रक्रिया पुरा गरेपछि फाइल बुझाए पुग्ने व्यवस्था गरी फाइल लगानीकर्ता आफैले डुलाउँदै हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्न अध्यक्ष ढकालले सरकारसँग आग्रह गरे ।
देशमा पूर्वाधार विकासमा पूँजीको अभाव नहोस् भनेर महासंघकै पहलमा १० अर्ब पुँजी भएको पब्लिक लिमिटेड कम्पनी स्थापना गरि काम शुरु गरिसकेका जानकारी दिँदै उनले यसले पूर्वाधारमा लगानीको अभावलाई थोरै भएपनि हटाउन सघाउ पुग्ने बताए ।
यसैगरी, महासंघले आफ्नो साधारणसभाको अवसरमा लगानी विस्तार र सर्वसाधारणको सेवा सुरक्षा बढाउन सुशासनको बिषय उठाएको स्मरण गर्दै उनले सरकारले तत्काल सुशासन आयोग गठन गरेकोमा सरकार प्रति आभार व्यक्त गरे ।
साथै निजी क्षेत्र सुशासन र सुधारका क्षेत्र हरेक तरहबाट सुधारका लागि सहकार्य गर्न तयार रहेको समेत बताए ।