काठमाडौं । अमेरिकी राष्ट्रपतिको कार्यालयको इन्स्टाग्राम खाताबाट डोनाल्ड ट्रम्पको पोपको रूपमा बनाइएको एआई तस्वीर सेयर गरिएको छ, जसप्रति क्याथोलिक समूहले कडा आपत्ति जनाएका छन् ।
यो तस्वीर त्यस्तो समयमा सार्वजनिक गरिएको हो जब क्याथोलिक समुदाय पोप फ्रान्सिसको निधनपछि शोकमा डुबेको छ ।
ट्रम्पले पोस्ट गरेको तस्वीरमा उनी पोपजस्तै सेतो पोशाक अनि टोपी लगाएर घाँटीमा ठूलो क्रस झुण्ड्याई गम्भीर मुद्रामा एक औंला माथि उठाएर उभिएका देखिन्छन् ।
न्यूयोर्क स्टेट क्याथोलिक कन्फरेन्सले ट्रम्पमाथि उनीहरूको आस्थाको अपमान गरेको आरोप लगाएको छ ।
केही दिनअघि मात्र ट्रम्पले पत्रकारहरूसँग मजाक गर्दै भनेका थिए, 'म पोप बन्न चाहन्छु ।’
ट्रम्प यस्ता पहिलो अमेरिकी राष्ट्रपति होइनन्, जसले यस्ता आरोप खेप्नुपरेको हो ।
एक वर्षअघि अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनले गर्भपतनको पक्षमा आयोजित र्यालीमा ‘साइन अफ द क्रस’ बनाएर क्याथोलिक समुदायलाई आक्रोशित बनाएका थिए ।
भ्याटिकनका प्रवक्ताले ट्रम्पको तस्वीरबारे कुनै टिप्पणी गरेका छैनन् । भ्याटिकनमा बुधबारदेखि पोपको उत्तराधिकारी चयनको प्रक्रिया सुरु हुन लागेको छ ।
न्युयोर्क स्टेट क्याथोलिक कन्फरेन्सले एक्स (पूर्वट्विटर) मा लेखेको छ, 'यस तस्वीरमा केही पनि रमाइलो छैन, मिस्टर प्रेसिडेन्ट ।’
'हामीले भर्खरै आफ्ना प्रिय पोपलाई गाडेका छौं र अब एक गम्भीर चयन प्रक्रिया सुरु हुँदैछ । कृपया हाम्रो मजाक नउडाउनुहोस् ।’