अमेरिकाबाहिर बनेका चलचित्रमा १०० प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकाबाहिर निर्माण भएका सबै चलचित्रहरूमा १०० प्रतिशत ट्यारिफ (महसुल) लगाउने घोषणा गरेका छन् । 

उनले भने, 'विदेशी देशहरूले अमेरिकन फिल्म निर्मातालाई आकर्षित गर्न दिएको प्रोत्साहनले अमेरिकी चलचित्र उद्योगलाई ‘एकदमै चाँडो अन्त्यतर्फ’ को स्थितिमा पुर्याएको छ ।'

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’मा पोस्ट गर्दै भने, 'यो अरू राष्ट्रहरूको संगठित प्रयास हो र त्यसैले राष्ट्रिय सुरक्षाको खतरा हो । यो सन्देश र प्रचारप्रसारसँग पनि सम्बन्धित छ ।'

'हामी फेरि चलचित्रहरू अमेरिकामै बनेको चाहन्छौं,' ट्रम्पले थपे ।

राष्ट्रपतिले वाणिज्य विभाग लगायतका संघीय निकायहरूलाई यो महसुल तुरुन्त कार्यान्वयन गर्न निर्देशन दिइसकेको बताएका छन् । 

वाणिज्य सचिव हावर्ड लुटनिकले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, 'हामी यसमा काम गरिरहेका छौं ।'

तर, महसुल कसरी लागू गरिने भन्ने विषयमा कुनै प्रस्ट जानकारी दिइएको छैन । यो कदमले विदेशी कम्पनीहरूलाई मात्र असर गर्छ वा विदेशमा चलचित्र बनाउने अमेरिकी कम्पनीहरूलाई पनि भन्ने विषय स्पष्ट छैन ।

फिल्मएलएका अनुसार लस एन्जलसमा चलचित्र र टेलिभिजन निर्माण पछिल्लो दशकमा झन्डै ४० प्रतिशतले घटेको छ । उता विश्वभरका सरकारले कर छुट र नगद अनुदानमार्फत निर्माण आकर्षणको प्रयास गरिरहेका छन् । 

ट्रम्पको यो निर्णय चीनसँगको व्यापार युद्धपछिको अर्को कठोर आर्थिक कदमका रूपमा आएको छ । यसअघि लगाइएका विश्वव्यापी महसुलले बजारमा हलचल ल्याएको थियो र अमेरिकी मन्दीको डर बढाएको थियो ।

यसबीच पूर्व वाणिज्य अधिकारी विलियम रिन्स्चले भनेका छन्, 'यदि अन्य देशहरूले प्रतिशोधमा कदम चाले भने त्यो अमेरिकी चलचित्र उद्योगका लागि विनाशकारी हुनेछ ।' 'हामीसँग गुमाउन धेरै छ, जित्न थोरै,'उनले थपे ।

सेयर बजारका बादशाह बफेटले सीईओ पद छाड्दै, ग्रेग एबेल बन्दै उत्तराधिकारी

ट्रम्पको १०० दिन : ट्यारिफ युद्धले मन्दीको सन्त्रास र महँगीको शंका

एआईदेखि ईभीसम्मः नवप्रवर्तनमा विश्वको ध्यान खिच्दै चीन

 

Share News