ट्रम्पको एक घोषणाले विश्वका शीर्ष मूल्यवान कम्पनीलाई फाइदैफाइदा

काठमाडौं । अमेरिकासहित विश्वभरका सेयर बजार केही समयदेखि उकालो लागेको छ । धेरै कम्पनीहरूको सेयर मूल्यमा तीव्र वृद्धि देखिएको छ । यदि विश्वका ५ सबैभन्दा मूल्यवान कम्पनीहरूको कुरा गर्याैं भने तिनीहरूको सेयर मूल्य पछिल्लो एक महिनामा आकाशिएको छ। 

ती कम्पनीहरू हुन्- माइक्रोसफ्ट, एप्पल, एनभिडिया, अमेजन र अल्फाबेट । यी सबै अमेरिकी कम्पनीहरू हुन् । यी कम्पनीहरूको सेयरमा पछिल्लो एक महिनामा २० प्रतिशतभन्दा बढी वृद्धि आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ घोषणाले विश्वभर व्यापार युद्ध सुरु भएको थियो । विश्वका धेरै सेयर बजार ध्वस्त भएका थिए, जसबाट अमेरिका पनि अछुतो रहन सकेन । 

अमेरिका र चीनबीच एक अर्कामाथि बढी ट्यारिफ लगाउने प्रतिस्पर्धा चलेको थियो । त्यसबाट यी मूल्यवान कम्पनीहरूको सेयर बजारमा नराम्रो असर परेको थियो । यद्यपि अहिले अवस्था केही सुधारिएको देखिन्छ।

कसको कति वृद्धि ?

पछिल्लो एक महिनामा यी मूल्यवान कम्पनीहरूको सेयर ८ प्रतिशतदेखि २१ प्रतिशतसम्म उफ्रेका छन् । सबैभन्दा बढी वृद्धि माइक्रोसफ्ट कम्पनीको सेयरमा देखिएको छ । यसै कारणले यो कम्पनी अहिले विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको हो । 

यसले एप्पललाई पछि पारेर पहिलो स्थान हासिल गरेको छ । माइक्रोसफ्टको क्लाउड सेवा र एआई (कृत्रिम बौद्धिकता) को बढ्दो मागले सेयर वृद्धिमा सहयोग पुर्याएको हो ।

कम्पनीहरूमा देखिएको तीव्र वृद्धिको एक प्रमुख कारण ट्रम्पको एक घोषणा पनि हो । ट्रम्पले हाललाई ट्यारिफलाई ९० दिनका लागि स्थगित गरेका छन् । यसले गर्दा विश्वव्यापी व्यापार युद्ध केही समयका लागि रोकिएको छ । यी ९० दिन जुलाईमा समाप्त हुनेछन् । त्यसपछि ट्रम्पले के निर्णय लिन्छन् भन्ने कुरा पछि मात्र प्रस्ट हुनेछ ।

कसलाई कति फाइदा?

पछिल्लो एक महिनामा विश्वका ५ सबैभन्दा मूल्यवान कम्पनीहरूको सेयर यति प्रतिशतले बढेका छन्ः

माइक्रोसफ्टः विश्वकै सबैभन्दा मूल्यवान कम्पनी हो । यसको सेयर एक महिनामा २१.६३ प्रतिशतले बढेको छ ।

एप्पलः दोस्रो स्थानमा रहेको एप्पलको सेयर एक महिनामा १३.१७ प्रतिशतले बढेको छ ।

एनभिडियाः तेस्रो सबैभन्दा मूल्यवान कम्पनी एनभिडियाको सेयर एक महिनामा १७.२७ प्रतिशतले बढेको छ ।

अमेजनः चौथो स्थानको अमेजनको शेयर एक महिनामा ८.४० प्रतिशतले बढेको छ।

अल्फाबेटः गुगलको मातृ कम्पनी अल्फाबेटको सेयर एक महिनामा ११.१० प्रतिशतले बढेको छ ।

ट्यारिफपछि अवस्था खराब

डोनाल्ड ट्रम्पले यस वर्ष जनवरीमा राष्ट्रपति पद सम्हालेपछि भारत र चीन लगायत विश्वका धेरै देशहरूमा ट्यारिफ लगाउने घोषणा गरे । यसले गर्दा व्यापार युद्ध सुरु भयो र धेरै देशहरूको सेयर बजार ध्वस्त भयो । अमेरिका पनि यसबाट बच्न सकेन । त्यसपछि यी कम्पनीहरूको सेयर मूल्य निकै घटेको थियो ।

यदि पछिल्ला ६ महिनाको कुरा गरौं भने यी पाँचै कम्पनीहरूको अवस्था खासै राम्रो देखिँदैन । ६ महिनाको रिटर्न हेर्दा माइक्रोसफ्ट बाहेक सबै कम्पनीहरू घाटामा छन् । माइक्रोसफ्टले यी ६ महिनामा करिब ६ प्रतिशतको रिटर्न दिएको छ भने सबैभन्दा बढी घाटा एनभिडियाले बेहोरेको छ–  यसको सेयर ६ महिनामा १८ प्रतिशतभन्दा बढी घटेको छ ।

Share News