काठमाडौं । भारतले 'अपरेसन सिन्दुर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका ९ स्थानमा हवाई आक्रमण गरेको छ । भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंक आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो ।
यो कारबाही अप्रिल २२ मा भारत नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो । जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो । भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ ।
भारतको वासिङ्टनस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आक्रमण पूर्णरूपमा लक्षित र सटीक थियो । केवल चिनिएका आतंकी शिविरहरूलाई मात्र निसाना बनाइएको हो ।’
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गरेका छन् । साथै, बलियो जवाफ दिने चेतावनी दिएका छन् ।
संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ। उसले भनेको छ, ‘दुई आणविक शक्तिहरूबीच युद्ध विश्वका लागि अत्यन्त खतरनाक हुन सक्छ ।’