भारत-पाकिस्तानबीचको युद्ध उत्कर्षमा पुग्ने संकेत, यस्तो छ दुई देशको शैन्यशक्ति

काठमाडौं । भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न नौ स्थानमा क्षेप्यास्त्र हमलाहरू गरेपछि अब भारत र पाकिस्तानको युद्ध उत्कर्षमा पुग्ने अनुमान गरिएको छ । अहिले दुवै देशमा भएका हमलाको विषयमा विभिन्न समाचार र तस्बिरहरू सार्वजनिक भइरहेका छन् । 

दुई साताअघि भारत प्रशासित कश्मीरमा पर्यटकहरूमाथि भएको आतङ्कवादी आक्रमणपछि भारतले प्रतिवाद गरेको हो । भारतले पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीरमा शृङ्खलाबद्ध क्षेप्यास्त्र प्रहार गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

यो आक्रमणलाई भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ नाम दिएको छ । यो आक्रमणमा ३० जनाको मृत्यु भएको जनाएको छ । भारतले ९ ठाउँमा  आक्रमण गरेको भनिए पनि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पाँच स्थानमा आक्रमण भएको धारणा राखेका छन् । उनले यसको उचित जवाफ दिने पनि अभिव्यक्ति दिएका छन् । 

‘पाकिस्तान र पाकिस्तानी सेनालाई थाहा छ, कसरी दुश्मनसँग व्यवहार गर्नुपर्छ । हामी कहिल्यै पनि शत्रुलाई उसको उद्देश्यमा सफल हुन दिनेछैनौं,’ प्रधानमन्त्री शरीफले सामाजिक सञ्जाल एक्स (पूर्व ट्वीटर) मा लेखेका छन् । 

अब भारत र पाकिस्तानबीच युद्ध बढ्ने अनुमान विज्ञहरुले गरेका छन् । भारत र पाकिस्तानसँग भएको शैन्य हातहतियार तथा शक्तिको विषयमा पनि अहिले अन्तर्राष्ट्रिय रुपमा चर्चाको विषय बनेको छ । 

कुन देशको सेना शक्तिशाली ?

बीबीसी हिन्दीले उल्लेख गरेअनुसार सन् २०२५ को सैन्य शक्तिको वरीयतामा भारत १४५ देशहरूमध्ये चौथो स्थानमा हुनेछ भने पाकिस्तान १२औं स्थानमा हुनेछ । 

भारतीय सेनासँग करिब २२ लाख सैनिक, ४ हजार २०१ ट्याङ्क, झण्डै १.५ लाख बख्तरबन्द सवारी साधन, १०० सेल्फ प्रोपेल्ड आर्टिलरी र ३ लाख ९ हजार ७५ बाह्य सहायताका भरमा चल्ने आर्टिलरी छन् भने मल्टी ब्यारल रकेट आर्टिलरी २६४ वटा छन् । 

भारतीय वायुसेनासँग ३ लाख १० हजार सैनिक एवं ५१३ लडाकु विमान र २७० पारवहनमा प्रयोग हुने विमानसहित कुल २ लाख २२९ वटा विमान छन् । कुल विमानहरूमा १३० वटा हमलाकारी, ३५१ वटा प्रशिक्षणमा प्रयोग हुने विमान र छवटा ट्याङ्कर फ्लीट विमानहरू छन् । भारतीय सेनासँग ८९९ हेलिकप्टर, तीमध्ये ८० वटा हमलाकारी हेलिकप्टर छन् भने कुल २९३ वटा जहाज रहेका छन् । यस्तै, दुई विमानवाहक युद्धपोत भारतीय सेनासँग छन् भने आणविक वारहेड १७२ वटा छन् । 

यस्तै, बीबीसी हिन्दीका अनुसार पाकिस्तानी सेनामा झण्डै १३.११ लाख सैनिक, १.२४ लाख नौसैनिक र ७८ हजार वायुसेना छन् । 

पाकिस्तानसँग ३२८ लडाकु विमान, ९० आक्रामक प्रकारका, ६४ यातायात विमान, ५६५ ट्रेनर, ४ ट्याङ्कर फ्लीट र ५७ लडाकु हेलिकप्टरका साथ ३७३ हेलिकप्टर सहित कुल १,३९९ विमानहरू छन् । 

यसमा २ हजार ६२७ ट्याङ्क, ६६२ सेल्फ प्रोपेल्ड आर्टिलरी, २ हजार ६२९ बाह्य सहायताका भरमा चल्ने आर्टिलरी र ६०० मल्टी ब्यारल रकेट छन् । पाकिस्तानी नौसेनासँग नौवटा फ्रिगेट, नौवटा कर्भेट, आठवटा पनडुब्बी र ६९ गस्ती जहाज छन् । यस्तै, पाकिस्तानसँग १७० वटा आणविक वारहेड रहेको उल्लेख छ । 

भारतले हमाला गरेपछि भारतीय एयरलाइन्सहरूले ट्राभल एडभाइजरी जारी गरेका छन् । यसका कारण धेरै उडानहरू रद्द भएका छन् र केही प्रभावित भएका छन् । 

भारतको हमालापछि संयुक्त राष्ट्रसंघले औपचारिक प्रतिक्रिया दिएको छ । संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले गुटेरेस ‘नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सिमानाका पारिपट्टिका भारतीय सैन्य कारबाहीहरूप्रति गहिरो चिन्तित रहेको’ बताएका छन् ।

उनले भारत र पाकिस्तान दुवैलाई आफ्ना सैन्य शक्तिलाई अधिकतम संयम राख्न आग्रह गरेका छन् । एजेन्सीको सहयोगमा ।

Share News