काठमाडौं । भारतले बुधबार बिहान जम्मु–कश्मीरमा आतंकवादी पूर्वाधारहरू लक्षित गरी सैन्य कारबाही गरेको जनाएको छ । भारतको रक्षा मन्त्रालयले यो कारबाहीलाई 'अप्रेशन सिन्दुर' नाम दिएको छ र त्यस अन्तर्गत नौवटा स्थानमा आक्रमण गरेको बताएको छ ।
मन्त्रालयका अनुसार यी स्थानहरूबाट भारतमाथि आतंकवादी हमला योजना बनाइएका थिए । 'हाम्रो कारबाही लक्षित, सीमित र तनाव नबढाउने प्रकृतिको छ । कुनै पनि पाकिस्तानी सैन्य संरचना लक्षित गरिएको छैन,' विज्ञप्तिमा उल्लेख छ ।
यो कारबाही जम्मु-कश्मीरको पहलगाममा गत महिना भएको एक उग्रवादी हमलाको जवाफस्वरूप गरिएको हो, जसमा २६ जनाको ज्यान गएको थियो ।
पाकिस्तानले भने भारतले आफ्ना नागरिकहरूमाथि हमला गर्दै आफ्नो भू–सम्प्रभुतामा उल्लंघन गरेको आरोप लगाएको छ । पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तारारले पाँच भारतीय लडाकु विमान खसालिएको दाबी गरेका छन् । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले भने, 'यो भारतले जन्माएको युद्ध हो र हामी कडा जवाफ दिइरहेका छौं ।'
पाकिस्तानी गोलाबारीका कारण तीनजना नागरिकको मृत्यु भएको बताइएको छ । यता भारतले भने कुनै पनि नागरिकलाई लक्षित नगरिएको स्पष्ट पारेको छ ।
उता अन्तर्राष्ट्रिय समुदायबाट संयमता अपनाउन आह्वान गरिएको छ। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेस, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, र यूएईका विदेशमन्त्री शेख अब्दुल्ला बिन जायेदले दुबै पक्षलाई तनाव घटाउन आग्रह गरेका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग कुराकानी गरेको जानकारी भारतको वाशिङ्टनस्थित दूतावासले दिएको छ ।
सैनिक कारबाहीपछि क्षेत्रीय उडानहरू प्रभावित भएका छन् । कतार एयरवेजले पाकिस्तानका लागि उडानहरू अस्थायी रूपमा स्थगित गरेको छ भने भारतीय एयरलाइन्सहरू पनि उत्तरी भारतका विमानस्थलहरूबाट प्रभावित भएका छन् ।
रक्षा मन्त्रालयले दिनको उत्तरार्धमा थप विस्तृत जानकारी दिने बताएको छ ।