काठमाडौं । भारतले बुधबार कश्मीरमा गरेको सैन्य कारबाहीपछि पाकिस्तानको सेयर बजारमा ठूलो गिरावट आएको छ । कराची स्टक एक्सचेञ्ज (केएसई- १००) सूचकांक एकै दिनमा ६००० अंकभन्दा धेरैले घटेर बजार धराशायी बनेको हो ।
भारतीय सेनाले बुधबार 'अपरेशन सिन्दुर' अन्तर्गत पाकिस्तानमा लुकेका आतंककारीहरू विरुद्ध लक्षित कारबाही गरेको थियो । यस अपरेशनमा आतंककारीहरूको थुप्रै अड्डा ध्वस्त पारिएको भारतीय रक्षा स्रोतहरूले जनाएका छन् । भारतको यो जवाफी कारबाही गत महिनाको पहलगाम आतंकी हमलापछि गरिएको हो ।
बुधबार केएसई– १०० सूचकांक मंगलबारको ११३५६८.५१ अंकबाट घटेर १०७२९६.६४ अंकमा खुलेको थियो, जुन ५.५२ प्रतिशतको गिरावट हो ।
पहलगाम हमलापछि निरन्तर गिरावट
२२ अप्रिलको पहलगाम आतंकी हमलापछि पाकिस्तानको सेयर बजारमा लगातार गिरावट देखिएको छ । उक्त दिन सूचकांक ११८४३०.३५ अंकमा बन्द भएको थियो । त्यसयता सूचकांकमा झन्डै ९.४० प्रतिशतको गिरावट आइसकेको छ, जसले पाकिस्तानको अर्थतन्त्रमा गम्भीर धक्का पुर्याएको छ ।
बुधबारको गिरावटअघि ३० अप्रिलमा पनि पाकिस्तानको सेयर बजारमा ३.०९ प्रतिशतको गिरावट आएको थियो, जुन पछिल्ला केही हप्ताको सबैभन्दा ठूलो गिरावट थियो ।
विशेषज्ञहरूको चेतावनी
२ मेमा बजारले २.५ प्रतिशतले सुधार देखाएको भए पनि विज्ञहरूका अनुसार त्यो केवल 'डेड क्याट बाउन्स’ (मृत बिरालो उफ्रनुजस्तै क्षणिक सुधार) मात्र हो । उनीहरूको भनाइमा जबसम्म भारत–पाकिस्तानबीचको तनाव घट्दैन, तबसम्म बजारमा स्थायी सुधारको सम्भावना निकै कम छ ।
भारतको 'अप्रेशन सिन्दूर': पाकिस्तानमाथि सैन्य कारबाही, तनाव उच्च बिन्दुमा
भारत-पाकिस्तानबीचको युद्ध उत्कर्षमा पुग्ने संकेत, यस्तो छ दुई देशको शैन्यशक्ति