भारतको हवाई आक्रमणमा परी मसूद अजहर परिवारका १० सदस्यसहित १४ जनाको मृत्यु

काठमाडौं । चरमपन्थी संगठन जैश-ए-मोहम्मदले जनाएको छ कि पाकिस्तानमाथि भारतले गरेको आक्रमणमा संगठनका प्रमुख मसूद अजहरका परिवारका १० सदस्य र उनका चार नजिकका सहयोगीको ज्यान गएको छ ।

यस सम्बन्धमा जैश-ए-मोहम्मद (जेईएम)ले बुधबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । मृतकमध्ये मसूद अजहरकी ठूलो बहिनी, भान्जा, भान्जाकी श्रीमती, भान्जी र परिवारका पाँच बच्चा पनि छन् ।

संगठनले यो पनि जनाएको छ कि आक्रमणमा मसूद अजहरका तीन नजिकका सहयोगी र तीमध्ये एक सहयोगीकी आमा पनि मारिएका छन् ।

विज्ञप्तिअनुसार पाकिस्तानको बहावलपुरस्थित सुभान अल्लाह मस्जिदमाथि भएको हमलामा मसूद अजहरका नातेदारहरूको मृत्यु भएको हो ।

फेब्रुअरी २०१९ मा जैश-ए-मोहम्मदले जम्मू-कश्मीरमा आत्मघाती बम विस्फोट गराएको थियो, जसमा ४० जना सैनिकको मृत्यु भएको थियो ।

२२ अप्रिलमा पहलगाममा भएका वीभत्स आतङ्कवादी हमलाका निर्दोष पीडितहरू र तिनका परिवारलाई न्याय दिनका लागि भारतले ‘अपरेशन सिन्दुर’ सुरु गरेको जनाएको छ ।

यस कारबाहीमा ९ आतङ्कवादी शिविरहरूलाई लक्षित गरिएको थियो र ती पूर्ण रूपमा नष्ट भएका छन् ।

पाकिस्तानले भारतीय हवाई आक्रमणमा २६ जना नागरिकको मृत्यु र ४६ जना घाइते भएको जानकारी दिएको छ भने भारतले १० जना भारतीय नागरिकको मृत्यु भएको र ३२ जना घाइते भएको जनाएको छ ।

एक शीर्ष भारतीय सैन्य अधिकारीले बीबीसीसँग पुष्टि गरेका छन् कि सीमापारबाट भएको गोलीबारीमा मारिएका भारतीय नागरिकको संख्या १० पुगेको छ । साथै ३२ जना घाइते भएका छ न्।

यी सबै घटनाहरू भारत र पाकिस्तानको पुन्छ जिल्लामा नियन्त्रण रेखाको नजिक भएका हुन् ।

यता चीनको विदेश मन्त्रालयले कश्मीरमा भारतले गरेको हवाई आक्रमणलाई 'दुर्भाग्यपूर्ण' भनेको छ ।

भारत र पाकिस्तानबीच बढ्दो तनावबारे एक प्रश्नको जवाफमा चीनको विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् कि उनीहरू वर्तमान परिस्थितिबारे 'चिन्तित' छन् ।

चीनको विदेश मन्त्रालयले भनेको छ, 'भारत र पाकिस्तान एक अर्काका छिमेकी हुन् र सधैं रहन्छन्। ती दुबै चीनका पनि छिमेकी हुन् । चीन सबै प्रकारका आतङ्कवादको विरोध गर्दछ ।’

मन्त्रालयका प्रवक्ताले दुबै देशलाई शान्त रहन, संयम अपनाउन र त्यस्ता कार्यहरूबाट टाढा रहन आग्रह गरेका छन्, जसले परिस्थितिलाई अझ जटिल बनाउन सक्छ।
 

Share News