भारत र पाकिस्तानको वर्तमान परिस्थितिबारे चिन्ता व्यक्त गर्दै संकटको समाधान खोज्न कतारको अपिल

काठमाडौं । कतारले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै यस संकटको कूटनीतिक समाधान खोज्न दुवै देशलाई अपिल गरेको छ ।

कतारको परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल 'एक्स' (पूर्व ट्विटर) मा एक विज्ञप्ति पोस्ट गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, 'भारत र पाकिस्तानबीच लगातार बढ्दै गएको तनावप्रति कतार चिन्तित छ र दुवै देशलाई आग्रह गर्छ कि उनीहरूले यो संकटको समाधान कूटनीतिक माध्यमबाट खोजून् ।'

कतारले भारत र पाकिस्तानले तनाव कम गर्न संवादको ढोका खोल्न जोड दिनुपर्ने बताएको छ । उसले भनेको छ कि दुवै देशले सकारात्मक वार्तामार्फत बाँकी रहेका समस्याहरू समाधान गर्नुपर्नेछ ।

बुधबार बिहान भारतीय सेनाकी कर्नेल सोफिया कुरैशीले प्रेस ब्रिफिङको क्रममा भारतका सशस्त्र बलहरूले 'अपरेसन सिन्दुर' सञ्चालन गरेकाे जानकारी दिएकी थिइन् ।

उनका अनुसार यो अपरेसन २२ अप्रिलमा पहलगाममा भएको वीभत्स आतंकवादी आक्रमणमा परेका निर्दोष नागरिक र तिनका परिवारलाई न्याय दिनका लागि सुरु गरिएको हाे  । यस कारबाहीमा नौवटा आतंकवादी शिविरलाई लक्षित गरियो र ती पूर्ण रूपमा ध्वस्त भएका छन् ।

पाकिस्तानले भारतीय हवाई आक्रमणमा २६ जना नागरिकको मृत्यु भएको र ४६ जना घाइते भएको जानकारी दिएको छ । यता भारतले नियन्त्रण रेखामा पाकिस्तानबाट गरिएको गोलाबारीमा १० जना भारतीय नागरिकको मृत्यु र ३२ जना घाइते भएको जनाएको छ ।
 

Share News