पाकिस्तानमाथि भारतको आक्रमणले युद्धको खतरा बढ्यो : टर्की

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र टर्कीका राष्ट्रपति रेसेप तय्यिप एर्दोगान

काठमाडौं । टर्कीले पाकिस्तान प्रशासित कश्मीरमा भारतले गरेको हवाई आक्रमणका कारण युद्धको खतरा थप बढेको जनाएको छ ।

टर्कीको विदेश मन्त्रालयले सामाजिक सञ्जाल 'एक्स' (पूर्व ट्वीटर) मा जारी गरेको एक विज्ञप्तिमा भनिएको छ कि उनीहरू भारत र पाकिस्तानबीच भइरहेका घटनाक्रमप्रति चिन्तित छन् र यसलाई नजिकबाट नियालिरहेका छन् ।

विज्ञप्तिमा भनिएको छ, 'हामी सर्वसाधारण र नागरिक भवनहरूलाई लक्षित गरी गरिने कुनै पनि प्रकारको उत्तेजनात्मक कार्य र आक्रमणको निन्दा गर्छौं । हामी आशा गर्छौं कि तनाव कम गर्न चाँडोभन्दा चाँडो कदमहरू चालिनेछन् । '

विज्ञप्तिमा दुबै पक्षलाई एकपक्षीय कदमबाट जोगिन पनि आग्रह गरिएको छ ।

यसै विज्ञप्तिमा टर्कीले पहलगाम आक्रमणको छानबिन गर्न पाकिस्तानले राखेको मागको समर्थन गर्ने उल्लेख गरिएको छ ।

बुधबार बिहान भारतीय सेनाकी कर्नेल सोफिया कुरैशीले प्रेस ब्रिफिङकाे क्रममा भारतका सशस्त्र बलहरूले 'अपरेसन सिन्दुर' सञ्चालन गरेकाे जानकारी दिएकी थिइन्।

यो अपरेसन २२ अप्रिलमा पहलगाममा भएको वीभत्स आतंकवादी आक्रमणमा परेका निर्दोष नागरिक र तिनका परिवारलाई न्याय दिनका लागि सुरु गरिएको थियो । यस कारबाहीमा नौवटा आतंकवादी शिविरलाई लक्षित गरियो र ती पूर्ण रूपमा ध्वस्त भएका छन् ।

पाकिस्तानले भारतीय हवाई आक्रमणमा २६ जना नागरिकको मृत्यु भएको र ४६ जना घाइते भएको जानकारी दिएको छ । यता भारतले नियन्त्रण रेखामा पाकिस्तानबाट गरिएको गोलाबारीमा १० जना भारतीय नागरिकको मृत्यु र ३२ जना घाइते भएको जनाएको छ ।

Share News