भारत-पाकिस्तान तनावबीच पाकिस्तानी प्रधानमन्त्रीले गरे टर्कीका राष्ट्रपतिसँग कुराकानी

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले टर्कीका राष्ट्रपति रेचेप तैय्यप एर्दोआनसँग आफूले कुराकानी गरेको बताएका छन् । उनले भारतले गरेको आक्रमणमा ज्यान गुमाउनेहरूप्रति टर्कीले प्रार्थना गरेकोमा प्रशंसा व्यक्त गरेका छन्।

शहबाज शरीफले एक्स (पूर्व ट्वीटर) मा लेखेका छन्, 'यो संवेदनशील समयमा पाकिस्तानप्रति टर्कीले देखाएको एकता र समर्थनको लागि मैले राष्ट्रपति एर्दोआनलाई धन्यवाद दिएको छु ।'

'हामी जुनसुकै मूल्य चुकाएर पनि हाम्रो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्नेछौं । दक्षिण एसियामा तनाव कम गर्न र शान्ति कायम राख्न टर्कीले गरेका प्रयासप्रति पाकिस्तान आभारी छ,' उनले थपे ।

७ मे मा भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेपछि टर्कीको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरेको थियो ।

विज्ञप्तिमा भारत र पाकिस्तानबीचको अवस्था प्रति चिन्ता व्यक्त गर्दै भनिएको थियो, 'हामी सर्वसाधारण नागरिकहरू र नागरिक संरचनाहरूलाई लक्षित गर्दै गरिने कुनै पनि किसिमको उकसाउने कार्य वा आक्रमणको निन्दा गर्छौं । हामी आशा गर्छौं कि तनाव कम गर्न चाँडै कदम चालिनेछ ।'

विज्ञप्तिमा दुवै पक्षलाई एकपक्षीय कदमहरूबाट जोगिन आग्रह गरिएको थियो र टर्कीले पहलगाम आक्रमणको अनुसन्धान गर्न पाकिस्तानले गरेको मागको समर्थन गरेको पनि उल्लेख गरिएको थियो ।

बुधबार बिहान भारतीय सेनाकी कर्नेल सोफिया कुरैशीले प्रेस ब्रिफिङको क्रममा भारतका सशस्त्र बलहरूले 'अपरेसन सिन्दुर' सञ्चालन गरेकाे जानकारी दिएकी थिइन् ।

उनका अनुसार यो अपरेसन २२ अप्रिलमा पहलगाममा भएको वीभत्स आतंकवादी आक्रमणमा परेका निर्दोष नागरिक र तिनका परिवारलाई न्याय दिनका लागि सुरु गरिएको हाे  । यस कारबाहीमा नौवटा आतंकवादी शिविरलाई लक्षित गरियो र ती पूर्ण रूपमा ध्वस्त भएका छन् ।

पाकिस्तानले भारतीय हवाई आक्रमणमा २६ जना नागरिकको मृत्यु भएको र ४६ जना घाइते भएको जानकारी दिएको छ । यता भारतले नियन्त्रण रेखामा पाकिस्तानबाट गरिएको गोलाबारीमा १० जना भारतीय नागरिकको मृत्यु र ३२ जना घाइते भएको जनाएको छ ।

Share News