काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार ठूलो घोषणा गर्ने तयारीमा छन् । ट्रम्पले बताएका छन् कि उनी एक ठूलो र सम्मानित देशसँग व्यापार सम्झौताको घोषणा गर्नेछन् ।
उनका अनुसार अमेरिका धेरै देशहरूसँग व्यापार सम्झौता गर्न लागेको छ र यो सम्झौता त्यसै श्रृंखलाको पहिलो हुनेछ ।
ट्रम्पले थुप्रै देशहरूमा ट्यारिफ (शुल्क) लगाउने घोषणा गरिसकेका छन् । हाललाई ९० दिनका लागि त्यसलाई रोकिएको छ । यस अवधिमा थुप्रै देशहरूसँग अमेरिकाको व्यापार सम्झौताका लागि वार्ता चलिरहेको छ ।
ट्रम्पले यस्तो घोषणा त्यसबेला गरेका छन् जब स्वीट्जरल्याण्डमा अमेरिका र चीनबीच वार्ता सुरु हुने तयारी भइरहेको छ ।
ट्रम्पले अहिलेसम्म त्यो देशको नाम खुलासा गरेका छैनन् जससँग सम्झौता हुँदैछ । तर स्रोतहरूको भनाइअनुसार त्यो देश बेलायत (यूके) हुन सक्छ ।
ट्रम्पले अहिलेका लागि ट्यारिफ घटाउने कुरा अस्वीकार गरेका छन् । अहिले नयाँ व्यापार सम्झौता कस्तो हुनेछ भन्ने स्पष्ट छैन । ट्रम्पको दाबी छ कि थुप्रै ठूला देशहरूले सम्झौताका लागि उनीसँग कुरा गरिरहेका छन् । तर उनी चाहन्छन् कि जुनसुकै सम्झौता होस्, त्यो अमेरिकाको हितमा होस् ।
उनले बुधबार भनेका थिए भने, ’यदि चाह्यौं भने हामी भोलि नै २५ वटा सम्झौता साइन गर्न सक्छौं ।’ साथै उनले ट्यारिफलाई हतियारको रूपमा प्रयोग गर्ने पनि जनाएका छन् ।
महँगी बढ्ने चिन्ता
यसैबीच अमेरिकाको फेडरल रिजर्भले ब्याजदर स्थिर राखेको छ । बेन्चमार्क दर ४.२५ प्रतिशत र ४.५० प्रतिशतको बीचमा कायम गरिएको छ । यो निर्णय महँगी र रोजगारीको विषयमा बढ्दो चिन्ताका कारण गरिएको हो । निर्णय बुधबार गरिएको हो । यो यस्तो समयमा आएको हो जब ट्रम्पको नयाँ ट्यारिफको प्रभाव देखिन थालेको छ ।
फेड अध्यक्ष जेरोम पावेलले ट्रम्प प्रशासनको व्यापार नीतिबारे ठूलो अनिश्चितता रहेको बताएका छन् । यसले वित्तीय बजारमा उतारचढाव ल्याएको छ र विज्ञहरूले महँगी र बेरोजगारी बढ्न सक्ने चेतावनी दिएका छन् ।
ट्रम्पका ट्यारिफहरूले लगानीकर्ताको विश्वास हल्लाएको छ । यसले आर्थिक विकासमा पनि चिन्ता थपेको छ । यद्यपि हालसम्म अर्थव्यवस्था मजबुत देखिएको छ, तर केही संकेतहरू यस्तो देखिन्छ कि जनताको विश्वास घट्दो छ र महँगी बढ्ने सम्भावना बढेको छ ।