काठमाडौं । उद्यमशीलता, नवप्रवर्तन तथा लघु उद्यम सशक्तिकरणका विषयमा गहन संवाद तथा अन्तरक्रिया गर्ने उद्देश्यले नेपाली कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभाग र उद्यमशील कांग्रेसको संयुक्त आयोजनामा 'नीति तथा बजेट संवाद कार्यक्रम' सम्पन्न भएको छ ।
ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उद्यमशीलताका बहुआयामिक पक्षहरू, स्टार्टअप प्रवर्द्धन, सरकारी नीति, सार्वजनिक लगानी र अर्थतन्त्रमा सुधार आवश्यकताका विषयमा गहन छलफल भयो ।
कार्यक्रममा कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले नेपालमा जलविद्युत् र कृषि क्षेत्रमा अपार सम्भावना रहेको भन्दै सरकारले ती क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राखे । पूर्व अर्थ राज्यमन्त्री डा. उदय शमशेर राणाले दोस्रो तहको आर्थिक सुधार बिना समृद्धि सम्भव नहुने बताए ।
योजना आयोगका पूर्व उपाध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले युवाहरू विदेशिनेभन्दा स्वदेशमै सम्भावनाको खोजी गर्नुपर्ने बताए । त्यसका लागि नीति निर्माताले वातावरण तयार गर्नुपर्नेमा जोड दिए ।
पार्टी अध्ययन स्रोत केन्द्र विभाग प्रमुख अजय बाबु शिवाकोटीले छलफलमा उठेका विषयहरू पार्टी नेतृत्वसम्म पुर्याइने जानकारी गराए । डा. विश्व पौडेलले कानुन उद्योगमैत्री भए पनि कार्यान्वयन कमजोर भएकाले प्रभावकारी योजनाको खाँचो रहेको औँल्याए ।
नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूले उद्यमशीलताको प्रवर्द्धनका लागि आर्थिक सुशासन, स्थानीयस्तरमा उद्यमशीलता विस्तार र राज्यको सहजीकरण भूमिका आवश्यक रहेको धारणा राखे।
उद्यमशील कांग्रेसका अध्यक्ष अश्विन सिटौलाले साझा धारणा बनाउन सरोकारवालाबीच संवाद निरन्तर गरिने बताए। महासचिव मोहन गजुरेलले यी विषयहरूलाई निरन्तर उठान गरिने उल्लेख गरे।
कार्यक्रममा विभिन्न क्षेत्रका उद्यमी, विज्ञ, कानुनी सल्लाहकार तथा नीति निर्माता पुस्ताको उल्लेखनीय सहभागिता रहेको थियो ।