काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालीहरूले आफ्नो उत्पादनलाई देश र दुनियाँले देख्ने गरी विश्वव्यापी रूपमा व्यापारीकरण गर्न आवश्यक रहेको बताएका छन् ।
१० औं अन्तर्राष्ट्रिय व्यापार मेला २०८२ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनका अनुसार हाल मुलुकले अपेक्षाकृत ढंगले अन्तर्राष्ट्रियस्तरमा नेपाली उत्पादनलाई बजारीकरण गर्न सकिरहेको छैन ।
उनले भने, ‘हामीले आयात र निर्यातको अवस्था देखेकै छौं । विदेशी वस्तु बढी मात्रा प्रयोग गर्ने गरेका छौं । तर स्वदेशी वस्तुहरूलाई निर्यात गर्न सकिरहेका छैनौं । अब यसलाई वृद्धि गर्नुपर्नेछ । यसका लागि विशेष गरी निजी क्षेत्र र उद्योग वाणिज्य आपूर्तिको क्षेत्रले लाग्नुपर्ने देखिन्छ । पछिल्लो प्रतिस्पर्धा या पछिल्ला संघर्षहरू आफ्नौ उत्पादन ब्राण्डमा लगाउनुपर्छ ।’
‘हाम्रो नीति निर्यात बढाउने हुनुपर्छ । ठोस योजना बनाएर प्रस्ताव ल्याउनुस्, मन्त्रालयबाट आवश्यक सहयोग हुन्छ,’ उनले थपे ।
मन्त्री भण्डारीले यसका लागि ठोस नीति तथा योजना बनाउन आवश्यक रहेको बताए।
निर्यातलाई चलायमान बनाउन सरकार लागि परेको समेत उनको भनाइ छ ।
उनले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्न आवश्यक रहेको औंल्याए ।