भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिने एस जयशंकरको चेतावनी

काठमाडौं । भारतीय विदेशमन्त्री एस. जयशंकरले भारतविरुद्ध सैन्य कारबाही भए त्यसको कडा जवाफ दिने चेतावनी दिएका छन् । जयशंकरले उक्त कुरा इरानी विदेशमन्त्री अब्बास अरागचीसँगको बैठकका क्रममा बताएका हुन् ।

अरागची भारत-इरान मैत्री सन्धिको ७५ औं वार्षिकोत्सव अवसरमा द्विपक्षीय सहकार्यको समीक्षा बैठकमा सहभागी हुन भारत भ्रमणमा छन् । जयशंकरले यसबारेमा एक्स (पूर्व ट्वीटर) मा पोस्ट गर्दै जानकारी दिएका हुन् ।

उनले २२ अप्रिलमा जम्मू-कश्मीरको पहलगाममा भएको आक्रमणबारे जानकारी दिँदै भनेका छन्, 'यस आक्रमणले हामीलाई सीमा पार आक्रमण गर्न बाध्य बनायो ।'

भारतीय विदेशमन्त्री जयशंकरले बताए अनुसार २२ अप्रिलको पहलगाम आक्रमणपछि भारतले ७ मेमा 'आतङ्कवादी ठेगानाहरू'लाई लक्षित गर्दै सीमा पार आक्रमण गरेको हो ।

जयशंकरले भने, 'हामी तनाव बढाउन चाहँदैनौं, तर यदि हामीविरुद्ध सैन्य कारबाही गरिन्छ भने कुनै शंका छैन- हामी त्यसको दृढ र कडा जवाफ दिनेछौं ।'

जयशंकरले इरानी विदेशमन्त्री अरागचीलाई भने, 'एउटा छिमेकी र नजिकको साझेदारको हैसियतले तपाईंले वर्तमान परिस्थितिबारे राम्रोसँग जानकारीमा रहनु आवश्यक छ ।'

बुधबार बिहान भारतीय सेनाकी कर्नेल सोफिया कुरैशीले प्रेस ब्रिफिङको क्रममा भारतका सशस्त्र बलहरूले 'अपरेसन सिन्दुर' सञ्चालन गरेको जानकारी दिएकी थिइन् ।

उनका अनुसार यो अपरेसन २२ अप्रिलमा पहलगाममा भएको वीभत्स आतंकवादी आक्रमणमा परेका निर्दोष नागरिक र तिनका परिवारलाई न्याय दिनका लागि सुरु गरिएको हो  । यस कारबाहीमा नौवटा आतंकवादी शिविरलाई लक्षित गरियो र ती पूर्ण रूपमा ध्वस्त भएका छन् ।

Share News