काठमाडौं । एसियन थाई फुड्सले लुम्बिनी प्रदेशको कपिलवस्तु नगरपालिका–६, गोबरी रामनगरमा दोस्रो उत्पादन युनिट सञ्चालनमा ल्याएको छ ।
बुधवार आयोजित विशेष समारोहमा जाजु ग्रुपका अध्यक्ष तथा कम्पनीका प्रबन्ध निर्देशक महेश जाजुले वैदिक विधिअनुसार पूजा गर्दै उक्त युनिटको औपचारिक शुभारम्भ गरे ।
यसअघि मोरङको विराटनगरमा पहिलो युनिट स्थापना गरिसकेको कम्पनीले दुई दशकको सफल अनुभवलाई आधार बनाएर कपिलवस्तुमा दोस्रो युनिट स्थापना गरेको हो ।
नयाँ युनिटबाट ‘प्रीति’, ‘टुपीएम’, ‘रमपम’ लगायतका लोकप्रिय चाउचाउ ब्रान्डका उत्पादन सुरु गरिने छ । साथै, केही नयाँ ब्रान्ड पनि उत्पादनमा ल्याउने योजना कम्पनीले सार्वजनिक गरेको छ । उत्पादन सामग्री भारतसहित तेस्रो मुलुकमा निर्यात गरिनेछ ।
सुरुआती चरणमा चाउचाउ उत्पादन केन्द्रित भए पनि आगामी दिनमा अन्य स्न्याक्स उत्पादन लाइनहरू थप्ने तयारी कम्पनीको रहेको छ । करिब अढाई बिघा क्षेत्रफलमा फैलिएको यस युनिटले लुम्बिनी प्रदेशमा रोजगारी सिर्जना र औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।