भारत-पाकिस्तान विवादले नेपाल सीमा प्रभावित, प्रहरीको निगरानी बढ्यो

काठमाडौं । भारत–पाकिस्तानबीचको पछिल्लो कूटनीतिक तथा सुरक्षा तनावको असर नेपाल–भारत सीमामा पनि प्रत्यक्ष रूपमा देखिन थालेको छ । प्रहरी प्रधान कार्यालयले सिमा क्षेत्रमा सुरक्षा सतर्कता कडाइ गर्न निर्देशन दिएको हो ।

त्यसअनुसार भारतसँग जोडिएका सबै सीमामा सुरक्षा कडाइ गरिएको छ । विशेषगरी धनुषा जिल्लाको सीमावर्ती क्षेत्रमा यात्रुहरूको परिचय पत्र प्रमाणीकरण, आवतजावतको प्रयोजन तथा सवारी साधनको विवरण रेकर्ड गर्ने कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार भारत–पाकिस्तान तनावको सम्भावित प्रभावलाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालय र मधेस प्रदेश प्रहरी कार्यालयबाट आएका निर्देशनअनुसार सिमामा व्यापक निगरानी सुरु गरिएको हो ।

पहिले सीमावर्ती भारतीय बजारहरूमा स्वतन्त्र रूपमा आवतजावत गर्न सक्ने व्यवस्था थियो, तर अहिले यात्रुहरूलाई कडाइका साथ उद्देश्य र परिचय प्रमाणीकरणपछि मात्र सिमाबाट पार गर्न दिइने गरिएको छ ।

यस कदमले नेपालमा शान्ति र सुरक्षा कायम गर्न, अवाञ्छित गतिविधि नियन्त्रण गर्न र सिमामा पारदर्शी आवागमन सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास सुरक्षा निकायले लिएको छ ।

Share News