काठमाडौं । क्रिप्टोकरेन्सीको मूल्य फेरि आकाशिन थालेको छ । गएको एक हप्तामा लगभग सबै प्रमुख क्रिप्टोकरेन्सीहरूले शानदार प्रतिफल दिएका छन् । विशेषगरी विश्वकै दोस्रो सबैभन्दा महँगो क्रिप्टो इथेरियमले त साप्ताहिक प्रतिफलको हिसाबले विश्वकै सबैभन्दा महँगो क्रिप्टो बिटकोइनलाई समेत पछि पारेको छ ।
इथेरियमको मूल्य गत ७ दिनदेखि एकदमै तीव्र गतिमा उक्लिरहेको छ । यसले सात दिनमै लगानीकर्तालाई झण्डै ३५ प्रतिशत प्रतिफल दिएको छ।
७ दिनअगाडि अर्थात् अप्रिल ४ तारिखको दिउँसो १ बजे एउटा इथेरियमको मूल्य १ हजार ८४० डलर थियो । आज आइतबार दिउँसो १ बजे यसको मूल्य झण्डै २ हजार ४९५ डलर पुगिसकेको छ ।
यसले ७ दिनमै लगानीकर्तालाई ३५ प्रतिशतभन्दा बढी प्रतिफल दिएको देखिन्छ । त्यति नै अवधिमा बिटकोइनको रिटर्न ८ प्रतिशतभन्दा अलि बढी मात्र रहेको छ ।
दोस्रो सबैभन्दा महँगो क्रिप्टो
हाल विश्वकै सबैभन्दा महँगो क्रिप्टो बिटकोइन हो, जसको मूल्य १ लाख डलरभन्दा माथि पुगेको छ । दोस्रो स्थानमा इथेरियम रहेको छ, जसको मूल्य २ हजार ४०० डलरभन्दा बढी छ । इथेरियम केवल दोस्रो सबैभन्दा महँगो क्रिप्टो मात्र होइन, व्यापारिक चलनको हिसाबले पनि यो दोस्रो स्थानमै रहँदै आएको छ ।
बिटकोइनको स्थिति कस्तो ?
अघिल्ला केही समयको प्रतिफल हेर्दा बिटकोइन अझै पनि भरपर्दो क्रिप्टोकरेन्सी बनेको देखिन्छ । ७ दिनको अवधिमा यसको प्रतिफल ८ प्रतिशतभन्दा बढी रहेको छ । आइतबार दिउँसो १ बजे एउटा बिटकोइनको मूल्य झण्डै १ लाख ३ हजार ६४७ डलर थियो । विगत १ वर्षको अवधिमा बिटकोइनले ७० प्रतिशत जति रिटर्न दिएको छ ।