काठमाडौं । इजरायलसँगको जारी द्वन्द्वका कारण गाजापट्टीमा पानी आपूर्ति प्रणाली पूर्ण रूपमा ध्वस्त भएको छ । प्यालेस्टिनी पानी प्राधिकरणका अनुसार इजरायली आक्रमण, पूर्वाधार विनाश, विद्युत् र इन्धन अभावले ८५ प्रतिशतभन्दा बढी पानी तथा सरसफाई सेवा गम्भीर रूपमा प्रभावित भएका छन् ।
बासिन्दाहरूलाई अहिले प्रतिव्यक्ति दिनमा तीनदेखि पाँच लिटर मात्र पानी उपलब्ध छ । जुन विश्व स्वास्थ्य संगठनको न्यूनतम मापदण्ड १५ लिटरभन्दा निकै कम हो । गाजामा हमासद्वारा सञ्चालित सरकारले इजरायलमाथि २० लाखभन्दा बढी नागरिकलाई मानवीय आपूर्तिबाट वञ्चित गराएर संगठित अपराध गरेको आरोप लगाएको छ ।
इजरायलले ७० दिनदेखि सबै गाजा क्रसिङहरू बन्द राख्दा करिब ३९ हजार सहायता ट्रकहरू प्रवेश गर्न नसकेको गाजाको मिडिया कार्यालयले जनाएको छ । यसले खाद्यान्न, औषधि र इन्धन आपूर्ति ठप्प हुँदा गाजामा स्वास्थ्य संकट थप गहिरिएको छ ।