मीनबहादुर र उमेशसहित आधा दर्जन व्यवसायी र बैंकर मिलेर कोल्डस्टोर निर्माण, २ अर्ब लगानी

काठमाडौं । आधा दर्जन व्यवसायीहरूको सामूहिक प्रयासमा चितवनको टाँडीमा कोल्डस्टोर निर्माण हुने भएको छ । देशकै सबैभन्दा ठूलो सुपरमार्केट स्टोर भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङको नेतृत्वमा कोल्डस्टोर निर्माण हुने भएको हो । कोल्डस्टोर निर्माणका काम सुरु भइसकेको सञ्चालक गुरुङले जानकारी दिए । 

उनका अनुसार ७२ हजार स्क्वायरफिट क्षेत्रफलमा कोल्डस्टोरको निर्माण भइरहेको छ ।  कोल्डस्टोर १० हजार म्याट्रिक टन क्षमताको हुने उनको भनाइ छ । उनका अनुसार कोल्डस्टोर निर्माण गर्न अनुमानित २ अर्ब रुपैयाँ लगानी लाग्नेछ । 

एक वर्षमै सेवा दिने योजना बनाइएको यो परियोजनाले कृषि उत्पादनमा 'गेम चेन्जर' हुने अपेक्षा उनको छ । कृषिमा सम्भावना र व्यावसायिकताले चुलिँदै गएको चितवन अब आधुनिक संरचनामा पनि अघि बढ्ने उनको धारणा छ । 

गुरुङका अनुसार किसानले आफ्नो उत्पादन २४ घण्टाभित्र स्टोरमा ल्याउन सके ६ महिनासम्म पनि जस्ताको त्यस्तै ताजा राख्न सकिनेछ । 'फलफूल, तरकारी, आलु, गाजरजस्ता वस्तुहरूलाई ६ महिनापछि पनि बिनासङ्कोच प्रयोग गर्न मिल्नेछ,’ गुरुङले भने । 

निर्माणमा खटिएका इन्जिनियर सुवर्ण ढुंगेलका अनुसार दुई बिगाहा जग्गामा बनिरहेको यो मल्टिटेम्प्रेचर कोल्डस्टोर सिभिल संरचनाको काम ४ महिनामै सकिनेछ भने प्री-इन्जिनियरिङका लागि ८ महिना लाग्नेछ । सबै काम समयमै सम्पन्न भएमा एक वर्षभित्रै कोल्डस्टोर सञ्चालनमा आउने उनले जानकारी दिए । 

उनका अनुसार यस्तो आधुनिक प्रविधिको कोल्डस्टोर छिमेकी देशहरूमा समेत दुर्लभ छ । यो कोल्डस्टोर चितवनका किसानका कोशेढुंगा सावित हुने उनको दाबी छ । इन्जिनियर ढुंगेलका अनुसार अहिले १२५ जना नेपाली कामदार निर्माण कार्यमा खटिएका छन् ।

भाटभटेनीको मुख्य नेतृत्वमा निर्माण भइरहेको यो परियोजनामा व्यवसायी उमेश श्रेष्ठ, किरण श्रेष्ठ, राजेश श्रेष्ठ, आशीष शर्मा र रामकृष्ण खतिवडाको पनि लगानी रहेको छ । 

उमेश श्रेष्ठ शिक्षा क्षेत्रमा परिचित व्यवसायी हुन् भने नेपाली कांग्रेसका कोषाध्यक्ष पनि हुन् । उनी पछिल्लो समय कृषिमा प्राथमिकता दिएर लगानी गरिरहेका छन् । यस्तै, किरण श्रेष्ठ पूर्वबैंकर हुन् । उनी राष्ट्रिय वाणिज्य बैंकका पूर्वसीईओ हुन् । 

यस्तै, खतिवडा नेपाल पूवार्धार बैंकका पूर्वसीईओ हुन् भने राजेश श्रेष्ठ पनि व्यवसायी नै हुन् ।  यसैगरी, आशीष शर्मा हिमालयन बैंकका सञ्चालक हुन् ।

कोल्डस्टोरमा एकपटकमा ५ सय ट्रक बराबरको सामान स्टोर गर्न सकिनेछ । भाटभटेनीकाे दाबीअनुसार यो कोल्डस्टोर देशको हालसम्मकै ठूलो हुनेछ, जुन इटहरीको कोल्डस्टोरभन्दा पनि उन्नत प्रविधिमा आधारित हुनेछ । 

Share News