माइक्रोसफ्टले ४४ वर्षमा हासिल गरेको प्रगति फेसबुकलाई लाग्यो मात्र १७ वर्ष

काठमाडौं । माइक्रोसफ्ट विश्वकै सबैभन्दा मूल्यवान कम्पनी हो । यसको बजार पूँजीकरण (मार्केट क्याप) ३.२६० ट्रिलियन डलर छ, जुन धेरै देशहरूको कुल जीडीपीभन्दा पनि धेरै हो । 

यो कम्पनीको स्थापना बिल गेट्सले आफ्ना साथीहरूसँग मिलेर गरेका थिए, तर यसलाई १ ट्रिलियन डलरको मूल्यमा पुग्न ४४ वर्ष लाग्यो । आइफोन बनाउने कम्पनी एप्पलले यो प्रगति ४२ वर्षमा प्राप्त गरेको थियो । 

यसैगरी, जेफ बेजोसको कम्पनी अमेजनले २४ वर्षमा यो उपलब्धि हासिल गर्यो भने गुगललाई २१ वर्ष, एलन मस्कको टेस्लालाई १८ वर्ष लाग्यो । तर फेसबुकले भने यो प्रगति १७ वर्षमै प्राप्त गर्यो । कम्पनीको स्थापना सन् २००४ मा भएको थियो र सन् २०२१ मा यो ट्रिलियन डलर कम्पनी बनेको थियो ।

विश्वका सबैभन्दा धनी व्यक्तिहरूमध्ये एक मार्क जुकरबर्गको कम्पनी फेसबुकको बजार पूँजीकरण १.४८९ ट्रिलियन डलर छ । यो विश्वकै सातौं सबैभन्दा मूल्यवान कम्पनी हो । फेसबुक विश्वकै सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनी पनि हो । यसको मातृ कम्पनी मेटा प्लेटफसँग ह्वाट्सएप र इन्स्टाग्रामको पनि स्वामित्व छ । 

मेटा प्लेटफम्र्सभन्दा अघि माइक्रोसफ्ट, एपल, एनभीडीया, अमेजन, गुगलको मातृ कम्पनी अल्फाबेट र साउदी अरेमको छन् । जुकरबर्गले सन् २००४ मा हार्वर्ड विश्वविद्यालयको होस्टेल कोठामा आफ्ना तीन साथीहरूसँग मिलेर फेसबुकको स्थापना गरेका थिए ।

फेसबुकको यात्रा ?

सन् २००४ मा जुकरबर्गले भेञ्चर क्यापिटलिस्ट पीटर थिएलबाट ५ लाख डलरको एन्जल लगानी प्राप्त गरे । सन् २००५ मा उनले आधिकारिक रूपमा आफ्नो कम्पनीको नाम “फेसबुक“ राखे । त्यसै वर्ष याहूले कम्पनीलाई १ अर्ब डलरमा किन्ने प्रस्ताव राखेको थियो, तर जुकरबर्गले अस्वीकार गरे । 

सन् २०१२ कम्पनीका लागि विशेष वर्ष रह्यो । त्यही वर्ष फेसबुकले डिजिटल फोटो कम्पनी इन्स्टाग्रामलाई १ अर्ब डलरमा खरिद गर्यो । सोही वर्ष कम्पनीले आफ्नो आईपीओ ल्यायो र प्रयोगकर्ताको संख्या १ अर्ब नाघ्यो । जुकरबर्ग सन् २००७ मा २३ वर्षको उमेरमै विश्वकै सबैभन्दा कम उमेरका अर्बपति बनेका थिए ।

सन् २०१४ मा फेसबुकले सबैभन्दा ठूलो खरिद ग¥यो । उसले मेसेजिङ एप ह्वाट्सएपलाई १९ अर्ब डलरमा खरिद गर्यो । यो फेसबुकको अहिलेसम्मकै सबैभन्दा ठूलो अधिग्रहण थियो । यो गुगल, माइक्रोसफ्ट वा एपलको कुनै पनि सम्झौताभन्दा ठूलो थियो । 

दुवै कम्पनीबीच दुई वर्षदेखि यसका लागि वार्ता चलिरहेको थियो। अक्टोबर २०२१ मा फेसबुकको नाम परिवर्तन भएर मेटा प्लेटफर्म बन्यो । यस अन्तर्गत फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप तीनवटै कम्पनीहरू समावेश छन् । जुकरबर्गको मेटा प्लेटफर्ममा झन्डै १३ प्रतिशत सेयर स्वामित्व छ । उनी एलन मस्क र जेफ बेजोसपछि सबैभन्दा धनी व्यक्ति हुन् ।

Share News