काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता बुझाउन सूचना पुनः जारी गरेको छ ।
प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपभोग गरी महसुल बक्यौता रहेका उद्योगीलाई पुनरावलोकनका लागि निवेदन दिन पुन सूचना जारी गरेको हो ।
यसअघि २६ गते प्राधिकरणले सूचना निकालेको थियो भने प्राधिकरणले सोमबार सूचना प्रकाशित गरी डेडिकेटेड ट्रंकलाइनका ग्राहकहरूले २०७८ सालको विद्युत वितरण विनियमावली, नियम ५५ को उपनियम (२) बमोजिम बक्यौता रकमको ५० प्रतिशत वा सो बराबरको एक वर्षसम्म म्याद रहने गरी जारी भएको ‘क’ वर्गको बैंक ग्यारेन्टी धरौटीबापत राखी, विनियमावलीको उपनियम (९) अनुसार प्रशासनिक पुनरावलोकनका लागि निवेदन दिन सक्ने भनेको छ ।
प्राधिकरणले निवेदन दिने म्याद हालको कार्यसञ्चालक समितिको मिति २०८२ वैशाख २१ को निर्णय अनुसार तोकेको जनाइएको छ ।
डेडिकेटेड र ट्रंकलाइनको विषयमा उद्योगीहरू र प्राधिकरणबीच लामो समयदेखि विवाद छ ।
