काठमाडौं । भारतको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रीज (आरईएल) एशियन पेन्ट्समा रहेको आफ्नो ४.९ प्रतिशत हिस्सेदारी बेच्ने योजना बनाउँदैछ । स्रोतहरूका अनुसार कम्पनी १७ वर्षअगाडि गरेको लगानीबाट बाहिरिन चाहन्छ ।
मुकेश अम्बानीको नेतृत्वमा रहेको कम्पनीले यस्तो निर्णय त्यतिबेला लिएको हो जब पेन्ट क्षेत्रले नाफाको चाप र बढ्दो प्रतिस्पर्धाको सामना गरिरहेको छ । भारतको पेन्ट बजार ९ अर्ब डलरको छ । यस बजारमा धेरै नयाँ कम्पनीहरूले एशियन पेन्ट्सलाई नम्बर १ स्थानबाट हटाउने प्रयास गरिरहेका छन् ।
इकोनोमिक टाइम्सको एक रिपोर्टअनुसार रिलायन्सले यस कारोबारको व्यवस्थापनका लागि बैंक अफ अमेरिकालाई नियुक्त गरेको छ । यसले एक वा धेरै ब्लक डिलमार्फत् यो लेनदेनको व्यवस्थापन गर्नेछ । यद्यपि प्रस्तावित मूल्य वर्तमान बजार मूल्यभन्दा ६-७ प्रतिशत कम हुने बताइएको छ ।
पछिल्लो २४ घण्टामा अन्य धेरै लगानी बैंक र ब्रोकरहरू पनि खरिदकर्ताको खोजीमा संलग्न भएका छन् । मंगलबार एशियन पेन्ट्सको सेयर २ हजार ३२३ भारुमा बन्द भएको थियो । यस मूल्यमा ४.९ प्रतिशत हिस्सेदारी बेच्दा रिलायन्सलाई ११ हजार १४१ करोड भारु (१.३१ अर्ब डलर) प्राप्त हुने अनुमान गरिएको छ ।
बुधबार एशियन पेन्ट्सको सेयरमा गिरावट देखिएको छ। बीएसईमा कम्पनीको सेयर बिहान ९:४८ बजे १.०४ प्रतिशतले घटेर २,३००.९५ अंकमा कारोबार भइरहेको थियो ।
कति लगानी ?
एशियन पेन्ट्सको सेयर पछिल्लो एक वर्षमा १९.३ प्रतिशतले घटेको छ । यसले कम्पनीको बजार मूल्यमा झण्डै ५१ हजार करोड भारुको ह्रास ल्याएको छ । एलारा सेक्युरिटीजका अनुसार एशियन पेन्ट्सको बजार हिस्सेदारी आर्थिक वर्ष २५ मा ५९ प्रतिशतबाट घटेर ५२ प्रतिशतमा झरेको छ । लाभांशसमेत गने हो भने हालको बजार मूल्यमा रिलायन्सले आफ्नो लगानीबाट २४ गुणा प्रतिफल पाउनेछ ।
रिलायन्सले यसबारे सोधिएका प्रश्नहरूको उत्तर दिएको छैन । यस मामिलामा संलग्न व्यक्तिहरूका अनुसार यदि खरिददार इच्छित मूल्यमा आएनन् भने कम्पनीले आफ्नो योजना रद्द गर्न सक्छ ।
बजार विज्ञहरूका अनुसार रिलायन्सले पाँच वर्षअगाडि पनि यस्तै विकल्पको खोजी गरेको थियो । त्यो समय कम्पनी भारतको सबैभन्दा ठूलो राइट्स इश्यू ल्याउने तयारीमा थियो । यद्यपि उक्त योजना अघि बढाइएको थिएन ।
पेन्ट बजारको अवस्था
पेन्ट कम्पनीहरूले लगातार चौथो त्रैमासिकमा कमजोर आम्दानी वृद्धि देखाएका छन् । बढ्दो प्रतिस्पर्धाका कारण उनीहरूले बढी छुट दिनुपरेको छ । कच्चा पदार्थको लागत घटेपनि यसको असर वार्षिक आधारमा सकल नाफा घटेको रूपमा देखिएको छ ।
एशियन पेन्ट्सको डेकोरेटिभ पेन्टमा ४४ प्रतिशत बजार हिस्सेदारी छ । यो एसियाकै दोस्रो ठूलो र विश्वस्तरमा आठौं ठूलो कम्पनी हो । कम्पनीको वार्षिक घरेलु डेकोरेटिभ पेन्ट उत्पादन क्षमता १.८५ मिलियन किलो लिटर रहेको छ । यसले ६० भन्दा बढी देशमा उपभोक्ताहरूलाई सेवा प्रदान गर्दै आएको छ ।