भारत र पाकिस्तानबीचको संघर्षबारे साउदी अरबमा ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको युद्धविराममा अमेरिकाको भूमिका पुनः दोहोर्याएका छन् ।

साउदी अरब पुगेका राष्ट्रपति ट्रम्पले रियाधमा आयोजित साउदी-अमेरिका लगानी फोरमलाई सम्बोधन गर्दै भारत-पाकिस्तानको उल्लेख गरी उक्त संघर्षमा लाखौं मानिस मारिन सक्ने बताए ।

ट्रम्पले भने, 'मेरो सबैभन्दा ठूलो आशा शान्ति स्थापना गर्ने र मानिसहरूलाई जोड्ने हो । मलाई युद्ध मन पर्दैन ।'

'केही दिनअघि मात्र मेरो प्रशासनले भारत र पाकिस्तानबीच बढ्दो हिंसा रोक्न ऐतिहासिक युद्धविराम गराउन सफलता पाएको हो,' उनले थपे ।

अमेरिकी राष्ट्रपतिले 'आणविक मिसाइलको व्यापार होइन, तपाईंहरूले जसरी सुन्दर तरिकाले बनाउनुहुन्छ, ती वस्तुहरूको व्यापार गरौं’ भनेको सुनाए । 

उनले भारत र पाकिस्तान दुवै देशका नेताहरूलाई शक्तिशाली र दृढ नेताको रूपमा वर्णन गरे ।

यस क्रममा ट्रम्पले युद्धविराममा सहमति गराउन अमेरिकी उपराष्ट्रपति जेडी भेन्स र विदेशमन्त्री मार्को रुबियोको विशेष सराहना गरेका छन् ।

Share News