काठमाडौं । सुरुमा घोषणा भएका नयाँ १० सहरहरू सम्पन्न नहुँदै नयाँ आयोजना थप भएका कारण वर्षौंसम्म आयोजनाहरूको काम अधुरो रहेको देखिएको छ ।
महालेखापरीक्षकको कार्यालयका अनुसार मध्यपहाडी लोकमार्गमा रहेका १० नयाँ सहर, हुलाकी लोकमार्गमा रहेका १० तथा तराई–मधेसमा ५ गरी १५ नयाँ सहरको एकीकृत विकास योजना, १३ स्मार्ट सिटीको गुरुयोजना अनुरूप हिमाली पदमार्गमा रहेका बस्तीहरूमध्ये १० बस्तीको स्वरूप संरक्षण तथा प्रवर्द्धन योजनासहित ५२ नयाँ सहर र बस्तीको लागि ११ खर्ब ७८ अर्ब ६८ करोड खर्छ लाग्ने अनुमान गरिएको थियो ।
हाल १० स्थानमा ४ हजार ७७७ रोपनी जग्गाको मात्रै विकास कार्यक्रम १८९ रोपनी क्षेत्रफल जग्गा खरिद ५८९ किलोमीटर सडक स्तरोन्नति ३४ किलोमीटर सडक कालोपत्रे ५१ किलोमीटर सडक ढलान भएकोमा यस वर्षसम्म १० कार्यालयबाट ८ अर्ब २९ करोड ९० लाख खर्च भएको जनाएको छ ।
मध्यपहाडी पुष्पलाल लोकमार्ग र उत्तर दक्षिण करिडोर मार्गको मिलन बिन्दुमा आसपासमा पर्ने प्रमुख १० स्थानमा २०८६/८७ सम्म अत्याधुनिक सेवा सुविधा र पूर्वाधारयुक्त सहर निर्माण र विकास गर्ने उद्देश्यले २०६७/६८ देखि रूपान्तरणकारी आयोजनाको रुपमा नयाँ सहर आयोजनाको कार्य सुरु गरिएको छ ।