गभर्नर सिफारिस समितिको सदस्य बने पोषराज पाण्डे, गभर्नरमा विश्वसँगै अर्का उम्मेद्वारको पनि इन्ट्री

काठमाडौं । सरकारले गभर्नर सिफारिस समितिको सदस्यमा डा. पोषराज पाण्डेलाई नियुक्त गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेलाई सदस्यमा नियुक्त गरेको हो ।  उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको प्रस्तावमा उनी नियुक्त भएका हुन् । 

यसअघि अर्थमन्त्री पौडेलको नेतृत्वमा बनेको समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र डा. विश्व पौडेल सदस्य थिए । पौडेलले समितिको सदस्यबाट राजीनामा दिएपछि अब पाण्डे र अधिकारी सदस्य बनेका हुन् । डा. पाण्डे अन्तर्राष्ट्रिय व्यापार मामिलाका विज्ञ हुन् । उनी काँग्रेस निकट मानिन्छन् । 

सिफारिस समितिबाट पूर्वगभर्नर विजयनाथ भट्टराईले पनि राजीनामा  दिएका थिए । उनले आफू राजनीतिक पार्टीको रबरस्ट्याम्प नबन्ने भन्दै राजीनामा दिएका थिए । पौडेलले भने गभर्नरको रुपमा अगाडि बढ्नका लागि राजीनामा दिएको बुझिएको छ । तर, अहिले पौडेलको योग्यतामाथि प्रश्न उठाउँदै रिट परेपछि गभर्नरका लागि अर्का व्यक्तिको पनि इन्ट्री भएको छ । 

स्रोतका अनुसार बाजुरा घर भएका अर्थशास्त्री डा. अंगराज तिमिल्सिना पनि गभर्नर बन्ने दौडमा लागेका छन्। सुदूरपश्चिम घर भएका राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट गभर्नर बन्ने दौडबाट पछि परेपछि डा. तिमिल्सिना अहिले देउवालाई आफू गभर्नर बन्नुपर्ने लबिङ गरिरहेको बुझिएको छ । तिमिल्सिना अर्थतन्त्रको राम्रो ज्ञान भएका व्यक्तिका रुपमा परिचित छन् । 

Share News