काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको सहभागितालाई थप सुदृढ गर्ने गरी आगामी बजेट आउने बताएका छन् ।
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ग्लोबल कन्फरेन्स २०२५ लाई सम्बोधन गर्दै उनले एनआरएनका तर्फबाट पुँजी एकीकृत गरी लगानीमैत्री वातावरण बनाउन आएका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
मन्त्री भण्डारीले भने, ‘नेपालको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको सहभागिता रहने गरी आगामी बजेट आउँछ । वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न गैर आवासीय नेपालीहरूको ज्ञान, सीप, पुँजी र अनुभवलाई महत्वपूर्ण साझेदारीको रूपमा हेरेको छ ।’
सरकार छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै लगानी गर्ने वातावरण बनाइरहेको बताउँदै नेपालको आर्थिक विकास र समृद्धिमा गैर आवासीय नेपालीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उनको भनाइ छ ।
मन्त्री भण्डारीले लगानीका लागि आवश्यक सुधार गर्न मन्त्रालय र मातहतका विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय, संस्थानहरूको समग्र सेवा प्रवाह, अनुमतिलगायतका प्रक्रिया सहजीकरण र सरलीकरणमा विशेष जोड दिई नीतिगत सुधारमा ठोस पहल भएको उनले बताए ।
आर्थिक वर्ष २०८१/८२ को प्रथम ८ महिनामा उद्योग विभागमा ४३८ नयाँ उद्योग दर्ता भई १ खर्ब ७१ अर्ब ३६ करोड रुपैयाँको लगानी स्वीकृत भएको, उद्योगको सञ्चालनबाट २३ हजार ६४ रोजगारी सिर्जना हुने अनुमान रहेको उनले जानकारी दिए ।
विसं २०८१ फागुनसम्म उद्योग विभागमा ३३३ वटा अटोमेटिक र ६ हजार ६४९ वटा अप्रुभल रुटबाट गरी कुल ६ हजार ९८२ परियोजनाहरूमा ५ खर्ब ६४ अर्ब ५९ करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएको तथा यस्ता उद्योगको सञ्चालनबाट ३ लाख ३९ हजार ६७५ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको मन्त्री भण्डारीले जिकिर गरे । उनले स्वदेशी कच्चा पदार्थमा आधारित र आयात प्रतिस्थापन गर्ने प्रकृतिका उपभोग्य वस्तुहरूको उत्पादनलाई प्रोत्साहन गरी स्वदेशी उत्पादनको उपयोगमा सरकारले विशेष जोड दिएको जानकारी गराए ।