काठमाडौं । अन्तर्राष्ट्रिय स्तरको प्रिमियम विद्युतीय सवारी ब्रान्ड सेरेसले नेपालका सडकहरूमा आफ्ना ५०० भन्दा बढी ईभी सञ्चालनमा आइसकेको घोषणा गरेको छ । कम्पनीका अनुसार यो उपलब्धिले नेपालमा हरित तथा दिगो यातायात प्रणालीप्रतिको चासो र विश्वास झनै बलियो बनाएको छ ।
सेरेसले यो सफलता अवसरमा विशेष समारोहको आयोजना गरी केक काटेर उत्सव मनाएको थियो । कार्यक्रममा सेरेसका सेल्स डाइरेक्टर डेभिड लुओ, एमएडब्ल्यु वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकरिया र सीईओ प्रशन्न पन्त लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक सिकरियाले भने, 'नेपालको चुनौतीपूर्ण भूगोललाई ध्यानमा राखेर डिजाइन गरिएका सेरेसका भरपर्दा, शक्तिशाली र आकर्षक गाडीप्रति नेपाली प्रयोगकर्ताको उत्साह हर्षलाग्दो छ ।'
कम्पनीले आगामी २०२६ भित्र तीन नयाँ सेरेस ईभी मोडेल नेपाली बजारमा ल्याउने घोषणा पनि गरेको छ । यसले नेपाली बजारमा विद्युतीय सवारीको विविधता र प्रतिस्पर्धा बढाउने अपेक्षा गरिएको छ ।