गृह मन्त्रीलाई तस्करी, चोरी पैठारी र अवैध कारोबारविरुद्ध कडा कदम चाल्न आग्रह

काठमाडौं । देशभर बढ्दो तस्करी, चोरी पैठारी र अवैध कारोबारले अर्थतन्त्रमा गहिरो असर पारिरहेको भन्दै मोरङ उद्योग व्यापार संघले संघीय सरकारका गृह मन्त्री रमेश लेखकलाई विशेष भेटघाट तथा छलफलमार्फत ध्यानाकर्षण गराएको छ ।

मंगलबार संघको कार्यालयमा आयोजित कार्यक्रममा संघ अध्यक्ष अनुपम राठी र नेपाल उद्योग परिसंघ, कोशी प्रदेश अध्यक्ष पवन कुमार सारडाले गृह मन्त्री लेखकलाई स्वागत गर्दै हालको व्यापारिक चुनौतीबारे छलफल गरेका थिए ।

अध्यक्ष राठीले खुला सीमाबाट भित्रिने अवैध सामग्री, सस्तो मूल्यका वस्तुले स्वदेशी उद्योगको प्रतिस्पर्धा क्षमतामा गम्भीर असर पारिरहेको भन्दै सीमामा प्रविधियुक्त निगरानी, सुरक्षाकर्मीको सक्रियता र नीतिगत सुधार आवश्यक रहेको बताए ।

उनले भारतीय बजारको जीएसटी दर कम भएको कारण नेपाली उपभोक्ता दैनिक भारतीय बजारतर्फ आकर्षित हुने, जसबाट दैनिक अबौँ रुपैयाँ बराबरको अवैध कारोबार हुने तथा राजस्वमा खर्बौँ घाटा हुने स्थिति सिर्जना भएको बताए ।

अवैध कारोबारले भ्रष्टाचार, लागूपदार्थ, हतियार र मानव तस्करी जस्ता जोखिम बढाएको उल्लेख गर्दै उनले स्थानीय तथा केन्द्रीय सरकारबीच समन्वयात्मक कार्ययोजना आवश्यक रहेको धारणा राखे ।

गृह मन्त्री लेखकले संघका गम्भीर चासोलाई स्वीकार गर्दै सरकारको प्राथमिकता तस्करी नियन्त्रणमै रहेको बताए । उनले प्रधानमन्त्री र अर्थमन्त्रीसँग समन्वय गरी मन्त्रिपरिषदमा विषय उठाउने र दुई महिनाभित्र नियन्त्रणको ठोस प्रत्याभूति दिने प्रतिवद्धता व्यक्त गरे ।

Share News