काठमाडौं । जापानी अटोमोबाइल कम्पनी निसान मोटर कम्पनीले आफ्नो व्यवसाय पुनर्संरचना गर्ने योजनाअन्तर्गत सन् २०२७ सम्म विश्वभरका सात उत्पादन प्लान्ट बन्द गर्ने घोषणा गरेको छ । यससँगै झन्डै २० हजार कर्मचारी कटौती गरिनेछ, जुन कम्पनीको कुल कार्यबलको करिब १५ प्रतिशत हो ।
कम्पनीले अमेरिकी ट्यारिफ नीति तथा विश्वव्यापी बजारमा बढ्दो अनिश्चितताका कारण सन् २०२६ मा समाप्त हुने आर्थिक वर्षको नाफा अनुमान स्थगित गरेको छ । निसानले मार्च २०२५ मा समाप्त हुने आर्थिक वर्षमा ६७०.८ अर्ब येन (झन्डै ४.५४ अर्ब अमेरिकी डलर) को शुद्ध घाटा व्यहोरेको छ । जुन चार वर्षमा पहिलोपटक वार्षिक घाटा हो ।
यो घाटा मुख्यतः अमेरिकी बजारमा बढेको विक्री खर्च र उत्पादन प्लान्टहरूको पुनर्मूल्याङ्कनबाट भएको क्षतिका कारण भएको कम्पनीको भनाइ छ ।
पुनरुत्थान योजना अन्तर्गत, निसानले प्रारम्भिक रूपमा ९ हजार कर्मचारी कटौतीको योजना अघि सारेको थियो । अब थप ११ हजार कटौती गरी कुल २० हजार रोजगारी घटाउने अन्तिम निर्णय गरिएको छ । कम्पनीले यसै योजनाबाट आफ्नो खर्च घटाउँदै लाभदायकता फर्काउने लक्ष्य लिएको छ ।