काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकलाई आफूले भारतमा उत्पादन नगर्न आग्रह गरेको बताएका छन् । चीनबाट उत्पादन हटाएर अन्य देशतर्फ केन्द्रित हुँदै गरेको एप्पलको कदमप्रति असन्तुष्टि जनाउँदै उनले उत्पादन अमेरिकामा ल्याउन आग्रह गरे ।
साउदी अरबमा आयोजित यूएस-साउदी लगानी फोरममा बोल्दै ट्रम्पले यस्तो आग्रह गरेका हुन् ।
मैले टिमलाई भनें, ‘हेर टिम, हामीले तिमीलाई धेरै राम्रो व्यवहार गर्यौं, वर्षौंसम्म चीनमा बनाएका कारखानाहरूलाई पनि स्वीकार गर्यौं । अब तिमी हामीका लागि बनाऊ । हामीलाई भारतमा तिमीले उत्पादन गर्नुमा चासो छैन, भारत आफै हेर्ला... हामी चाहन्छौं कि तिमी यहाँ बनाऊ’, ट्रम्पले भने ।
ट्रम्पले एप्पलले अमेरिकाभित्र ५०० अर्ब डलर लगानी गर्ने घोषणा गरेको फेब्रुअरी महिनाको प्रतिबद्धतामा उल्लेख गरेका थिए ।
चीनमा लगभग ९० प्रतिशत प्रमुख स्मार्टफोन उत्पादन हुने अवस्थामा एप्पलले त्यो निर्भरता घटाउँदै भारतमा उत्पादन बढाउने लक्ष्य लिएको छ । कम्पनीले आगामी केही वर्षमा विश्वभरका २५ प्रतिशत आइफोन भारतमै बनाउने योजना बनाएको छ ।
राष्ट्रपतिले एप्पलले अमेरिकाभित्र उत्पादन बढाउने तयारी गरिरहेको बताएका छन्, तर थप विवरण भने खुलाएका छैनन् ।
ट्रम्पले एप्पलबारे टिप्पणी गर्दै भारतसँगको व्यापक व्यापार सम्बन्धबारे पनि बोलेका छन् ।
उनले भारतलाई 'संसारको सबैभन्दा उच्च शुल्क लिने राष्ट्रमध्ये एक' भने, तर भारतले अमेरिकालाई एक यस्तो प्रस्ताव दिएको उल्लेख गरे जहाँ उनीहरू हामीमाथि 'शून्य शुल्क' लगाउन तयार छन् ।
ह्वाइट हाउसको अप्रिलमा सार्वजनिक गरिएको व्यापार सुरक्षा नीतिअन्तर्गत ट्रम्पले भारतबाट आयात हुने वस्तुहरूमा २६ प्रतिशत पारस्परिक शुल्क लगाएका छन्, जुन हाल जुलाईसम्मका लागि अस्थायी रूपमा घटाइएको छ ।
भारतमा एप्पलको प्रमुख असेम्ब्ली साझेदार फक्सकनले भारत सरकारबाट एचसीएल ग्रुपसँग संयुक्त लगानीमा अर्धचालक (सेमिकन्डक्टर) कारखाना निर्माण गर्न अनुमति पाएको छ ।
एप्पलले चीनमा दशकौं लगाएर आपूर्ति श्रृंखला निर्माण गरेको भए पनि अहिले भियतनाम र भारतजस्ता देशहरूमा उत्पादन क्षमता विस्तार गर्ने प्रयास गरिरहेको छ।
तर विज्ञहरूका अनुसार आइफोनको उत्पादन अमेरिकामा सार्नु निकै असम्भवजस्तो देखिन्छ, किनभने त्यसो गर्दा अन्तिम मूल्य अत्यधिक महँगो हुनेछ । अनुमानका अनुसार यदि आइफोन अमेरिका भित्र बनाइयो भने यसको मूल्य एक हजार ५ सयदेखि ३ हजा ५ सयसम्म पर्न सक्छ ।
हाल एप्पलले अमेरिकामा केही मात्र उत्पादन गर्छ । कम्पनीले आफ्नो म्याक्स प्रो अमेरिका भित्र बनाउने गर्छ । फेब्रुअरीमा एप्पलले टेक्सासमा एप्पल इन्टेलिजेन्सका लागि सर्भर उत्पादन गर्ने कारखाना स्थापना गर्ने घोषणा गरेको थियो ।
कार्यक्रमका क्रममा ट्रम्पले सार्वजनिक रूपमा एनभीडीयाका सीईओ जेन्सेन हुआङको प्रशंसा गरेका थिए ।
'मेरा मित्र जेन्सेन यहाँ हुनुहुन्छ, तर एप्पलका सीईओ टिम कुक यहाँ हुनुहुन्न,'उनले भने ।
ट्रम्पले हुआङको एआई चिप बजारमा ९९ प्रतिशत हिस्सा ओगटेको उपलब्धिको प्रशंसा गरे र एनभीडीयाले अमेरिकी एआई पूर्वाधारमा ५०० अर्ब डलर लगानी गर्ने योजना रहेको उल्लेख गरे ।