काठमाडौं । टेस्लाले गत नोभेम्बरमा एक विशेष नीति अन्त्य गर्यो जसले अमेरिकी ग्राहकहरूलाई लीजको अन्त्यमा आफ्नो कार खरिद गर्न निषेध गरेको थियो । यो नीति २०१९ मा सुरु भएको थियो ।
टेस्लाले मोडेल थ्री सवारीहरू ग्राहकलाई लीजमा दिने भए पनि लीज अवधि पूरा भएपछि ती गाडीहरू रोबोट्याक्सी सञ्जालमा प्रयोग गरिने भन्दै ग्राहकले किन्न नपाउने नीति लागू गरेको हो ।
एलन मस्कले त्यतिबेला भनेका थिए, 'अर्को वर्षसम्म हामीसँग सडकमा १० लाखभन्दा बढी रोबोट्याक्सी हुनेछ ।' तर त्यो कहिल्यै पनि पूरा भएन । रोबोट्याक्सी आउने वाचा बारम्बार गरिए पनि वास्तविकता फरक रह्यो ।
स्रोतका अनुसार टेस्लाले ती लिज समाप्त भएका कारहरू नयाँ ग्राहकलाई बिक्री गरेर कमाइको स्रोत बनायो ।
सस्तोमा फर्किएको गाडीलाई महँगोमा बेच्ने रणनीति
प्राप्त जानकारीअनुसार टेस्लाले ती फिर्ता भएका कारहरूमा सफ्टवेयर अपडेट जस्तै 'फुल सेल्फ ड्राइभिङ' (एफएसडी) र 'एस्सीलेरेसन बुस्ट' जस्ता सुविधाहरू थप्थ्यो, जसको मूल्य क्रमशः १५ हजार र २ हजार डलर थियो ।
त्यसपछि ती गाडीहरू लीज ग्राहकलाई नदिई नयाँ ग्राहकलाई हजारौं डलर बढी मूल्यमा बेचियो ।
एकजना पूर्वकर्मीका अनुसार 'यो तरिका प्रयोग गरी प्रयोगमा आइसकेका गाडीको मूल्य जबरजस्ती बढाइएको हो ।'
गुमेको अवसर र भ्रमित ग्राहक
यो व्यवहार मस्कका सार्वजनिक अभिव्यक्तिसँग मात्र होइन, टेस्लाको वेबसाइटमा उल्लेख गरिएका सर्तहरूसँग पनि बाझिन्छ । कानुनी रूपमा यो प्रक्रिया वैध भए पनि यसले लिज ग्राहकहरूलाई औद्योगिक मानकअनुसारको खरीद विकल्पबाट वञ्चित गर्यो र वर्षौंदेखि भ्रममा राख्यो ।
यसले लगानीकर्तामाझ पनि यस्तो भ्रम फैलायो कि टेस्ला पूर्ण स्वचालित प्रविधिको नजिक छ, जसले कम्पनीको सेयर मूल्यलाई उच्च राख्न मद्दत गर्यो ।
लीज नीति किन बदलिययो ?
कोभिड- १९ महामारीपछि गाडीको अभाव बढेपछि टेस्लाको नीति उपयुक्त देखिएको थियो । तर हाल मस्कको दक्षिणपन्थी राजनीतिक गतिविधिप्रति असन्तुष्टिका कारण टेस्ला गाडीको माग घट्दै गएको छ ।
अब प्रयोग गरिएका टेस्ला गाडीको मूल्य तीव्र रूपमा घटिरहेको छ । कारगुरुसको अध्ययन अनुसार प्रयोग गरिएका टेस्ला गाडीको मूल्य गत वर्षको तुलनामा ७.६ प्रतिशतले घटेको छ, जबकि अरू ब्रान्डहरूको औसत मात्र ०.८ प्रतिशत रहेको छ । साइबरट्रकको मूल्य झण्डै ४६ प्रतिशतले घटेको छ ।
यसै कारण टेस्लाले आफ्नो 'लीज अन्त्यपछि खरिद गर्न नपाइने' नीति अन्त्य गरेको विश्लेषकहरूले बताएका छन् ।
निराश ग्राहकहरू
जो मेन्डेनहल नामका एक ग्राहकले मोडेल वाई तीन वर्षका लागि लिजमा लिए । सुरुमा र अन्त्यमा टेस्ला कर्मचारीहरूले गाडी रोबोट्याक्सीका लागि चाहिने बताएका थिए । तर पछि उनले त्यो गाडी लिलामीमा बेचिएको थाहा पाए ।
उनी लेख्छन्, 'मसँग झुट बोलियो कि मैले आफूले लीज गरिएको गाडी किन्न सक्दिनँ । तर त्यो गाडी रोबोट्याक्सी नभई लिलामीमा बेचियो ।'
लगानीकर्ताको भ्रम र अविश्वास
एलन मस्कले सन् २०१६ देखि प्रत्येक वर्ष 'आगामी वर्षसम्म पूर्ण स्वचालित टेस्ला आउँछ' भने पनि त्यो कहिल्यै साकार भएन । केही लगानी संस्थाहरू जस्तै एआरके इनभेस्टले टेस्लाको रोबोट्याक्सी योजनामा भरोसा गरेर लगानी गरे । तर अन्य विश्लेषकहरूले भने त्यो योजनालाई 'चरम शंकास्पद' भनेका थिए ।
एक पूर्वटेस्ला कर्मचारीले भनेका छन्, 'टेस्लाले गाडीहरू राखेर मूल्य घट्न दिने थिएन- बेच्नु उनीहरूको योजना थियो ।'
एडमुन्ड्सका विश्लेषक जोशेफ यून भन्छन्, 'आजको अवस्थामा लिज खरिद विकल्प नदिएको निर्णय उल्ट्याउनु टेस्लाको लागि तार्किक थियो- किनकि अब त प्रयोग गरिएका गाडीहरूको मूल्य खस्कँदैछ ।'
निसानको पतन या पुनर्जागरण ? चुनौतीपूर्ण मोडमा जापानी अटो कम्पनी
टेस्लाभित्रको तलब संघर्षः मस्कका लागि नयाँ प्रस्तावको तयारी गर्दै बोर्ड