निसानको कारखाना कटौती योजना : जापान र विदेशका कारखाना बन्द गरी १० मा सीमित गर्ने तयारी

निशानको क्यूसुक प्लान्ट ।

काठमाडौं । निसानले जापान र विदेशका केही कार एसेम्बली प्लान्टहरू बन्द गर्ने योजना बनाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । जसमा मेक्सिकोको प्लान्ट पनि समावेश छ ।

कम्पनीले यसै साता अघि प्रस्तुत गरेको लागत कटौती योजनाअन्तर्गत यस्तो विचार भइरहेको हो ।

स्रोतहरूका अनुसार निसानले जापानको ओप्पामा कारखाना (जहाँ कम्पनीले १९६१ देखि उत्पादन सुरु गरेको थियो) र निसान शाताईद्वारा सञ्चालित शोनान प्लान्ट(जहाँ निसानको ५० प्रतिशत स्वामित्व छ) बन्द गर्ने सोंच बनाइरहेको छ । यस्तो भएमा जापानमा निसानसँग केवल तीनवटा मात्र कार एसेम्बली प्लान्ट रहनेछन् ।

विदेशमा निसानले दक्षिण अफ्रिका, भारत र अर्जेन्टिनामा रहेको उत्पादन बन्द गर्नुका साथै मेक्सिकोमा रहेका कारखानाको संख्या घटाउने योजना बनाइरहेको स्रोतले बतायो। 

जापानको तेस्रो ठूलो कार निर्माता कम्पनी निसानले मंगलबार एक व्यापक लागत कटौती योजना सार्वजनिक गरेको थियो, जसअनुसार कम्पनीले आफ्नो कार्यबलको करिब १५ प्रतिशत घटाउने र हालका १७ विश्वव्यापी उत्पादन प्लान्ट घटाएर १० बनाउने जनाएको थियो ।

योमीउरी पत्रिकाले सबैभन्दा पहिले निसानले जापान र विदेशका कारखाना बन्द गर्न सक्ने सम्भावनाबारे रिपोर्ट गरेको थियो । रिपोर्ट अनुसार मेक्सिकोका दुई कारखाना बन्द गर्नेबारे विचार भइरहेको छ ।

यो पनि पढ्नूहोस्-  निसानको पतन या पुनर्जागरण ? चुनौतीपूर्ण मोडमा जापानी अटो कम्पनी

निसानले आफ्नो वेबसाइटमा जारी विज्ञप्तिमा भनेको छ कि केही प्लान्टहरू बन्द हुनेबारेका रिपोर्टहरू अनुमानका आधारमा आएका हुन् र ती कुनै पनि आधिकारिक जानकारीमा आधारित छैनन् ।

'हालको अवस्थामा हामी यस विषयमा थप टिप्पणी गर्नेछैनौं,' निसानले विज्ञप्तिमा भनेको छ,'हामी हाम्रा सरोकारवालासँग पारदर्शिता कायम गर्न प्रतिबद्ध छौं र आवश्यक परेमा सम्बन्धित जानकारीहरू सार्वजनिक गरिनेछ ।'

नयाँ सीईओ इभान एस्पिनोसाले प्रस्तुत गरेको यो नयाँ रणनीति अघिल्लो सीईओ माकोटो उचिदाको रणनीतिबाट निकै फरक छ । उचिदाले विश्वव्यापी उत्पादन विस्तार गर्ने महत्त्वाकांक्षा राखेका थिए र जापानका कारखाना बन्द गर्न अस्वीकार गरेका थिए ।

आर्थिक वर्ष २०२४ मा निसानको बिक्री ३३  लाख इकाइमा सीमित भयो, जुन २०१७ को तुलनामा ४२ प्रतिशत कम हो ।

शनिबारको विज्ञप्तिमा निसानले मेक्सिको र अर्जेन्टिनाबाट निसान फ्रन्टियर र नवारा पिकअप उत्पादनलाई केन्द्रीय रूपमा मेक्सिकोको सिभाक कारखानामा एकीकृत गर्ने योजना पहिल्यै घोषणा गरिसकेको जानकारी गराएको छ । 

साथै मार्चमा फ्रेन्च साझेदार रेनोल्टले भारतस्थित संयुक्त उद्यम 'रेनोल्ट निसान अटोमोटिभ इण्डिया प्रालि 'मा रहेको निसानको सेयर किन्ने घोषणा गरिसकेको थियो।

स्रोतका अनुसार यदि निसानले आफ्ना तोचिगी, निसान मोटर क्युसु र निसान शाताई क्युसु (फुकुओकामा अवस्थित) कारखाना मात्र सञ्चालनमा राख्यो भने पनि त्यसले घरेलु बजारको सेवा गर्न र निर्यात कायम राख्न पर्याप्त हुनेछ ।

ओप्पामा प्लान्टको वार्षिक क्षमता करिब २ लाख ४० हजार कारको छ र सन् २०२३ को अक्टोबर अन्त्यसम्म त्यहाँ करिब ३ हजाचर ९०० कर्मचारी कार्यरत थिए । सन् २०१० मा यो प्लान्टले नै लिफ- विश्वको पहिलो व्यावसायिक इलेक्ट्रिक कारको उत्पादन सुरु गरेको थियो ।

शोनान प्लान्ट जसले व्यवसायिक भ्यान उत्पादन गर्छ, वार्षिक १ लाख ५० हजार युनिटको उत्पादन क्षमता राख्छ र करिब १ हजार २०० जनाले त्यहाँ काम गर्छन् ।

टेस्लाको गेमप्लान : प्रयोग गरिएका गाडी ‘अपग्रेड’ गरेर दोब्बर मूल्यमा बिक्री !
 

Share News