काठमाडौं । एनभीडीयाले आफ्नो एक प्रविधि अन्य कम्पनीहरूलाई बिक्री गर्ने योजना बनाएको घोषणा गरेको छ । उक्त प्रविधिले चिपहरू आपसमा जोडेर कृत्रिम बौद्धिकता (एआई) उपकरण निर्माण र कार्यान्वयनका लागि आवश्यक चिप-टु-चिप सञ्चारलाई तीव्र बनाउँछ ।
एनभीडियाले सोमबार आफ्नै एनभीलींक प्रविधिको नयाँ संस्करण सार्वजनिक गरेको छ जसको नाम एनभीलींक फ्यूजन राखिएको छ । यसलाई कम्पनीले अन्य चिप डिजाइनरहरूलाई बिक्री गर्नेछ ताकि तिनीहरूले धेरै चिपहरूलाई एक आपसमा जोडेर शक्तिशाली कस्टम एआई प्रणालीहरू निर्माण गर्न सकून् ।
मार्भेल टेक्नोलोजी र मिडियाटेकले पनि आफ्ना कस्टम चिप प्रयासहरूमा यो फ्यूजन प्रविधि अपनाउने योजना बनाएका छन् ।
एनभीडीयाले वर्षौंअघि एनभीलींक विकास गरेको थियो, जुन विभिन्न चिपहरूबीच ठूलो मात्रामा डेटा साटासाट गर्न प्रयोग हुन्छ ।
एनभीडीयाका प्रमुख कार्यकारी अधिकृत जेनसन हुआङले यो घोषणा ताइपे म्युजिक सेन्टरमा गरेका हुन् जुन कम्प्युटेक्स एआई प्रदर्शनी स्थल हो ।
हुआङको प्रमुख मन्तव्यले एनभीडीयाको एआई चिप र प्रणाली निर्माणको इतिहास र त्यसलाई समर्थन गर्न विकास गरिएको सफ्टवेयरबारे चर्चा गर्यो ।
हुआङले बताएअनुसार पहिले उनको प्रस्तुतिको ९० प्रतिशत समय ग्राफिक्स चिपमा केन्द्रित हुन्थ्यो, तर अब त्यो बदलिएको छ ।
अब एनभीडीया भिडियो गेम ग्राफिक्स चिप निर्माता मात्र नभई २०२२ मा च्याटजीपीटीको सुरुवातपछिको एआई क्रान्तिको मुख्य साधन बनेको चिप उत्पादक कम्पनी भएको छ ।
एनभीडीयाले माइक्रोसफ्टको विन्डोज अपरेटिङ सिस्टम चल्ने सीपीयूहरू डिजाइन गर्ने काम गर्दैछ, जसमा आर्म होल्डिङ्सको प्रविधि प्रयोग हुने जनाइएको छ ।
यस वर्ष मार्चमा भएको कम्पनीको वार्षिक डेभलपर सम्मेलनमा हुआङले ब्ल्याकवेल अल्ट्रा जस्ता नयाँ पुस्ताका एआई चिपहरू अनावरण गरेका थिए जुन यसै वर्ष उपलब्ध हुनेछन् ।
रुबिन चिपहरूपछि कम्पनीले फाइनम्यान प्रोसेसरहरू ल्याउनेछ, जुन सन् २०२८ मा आउने कार्यक्रम छ ।
एनभीडीयाले आफ्नो एआई चिपको डेस्कटप संस्करण डीजीएक्स स्पार्क पनि सार्वजनिक गर्यो, जुन एआई अनुसन्धानकर्तालाई लक्षित गरिएको छ । सोमबार हुआङले यो कम्प्युटर पूर्ण उत्पादनमा प्रवेश गरिसकेको र केही हप्तामा तयार हुने जानकारी दिए ।
कम्प्युटेक्स प्रदर्शनीमा १ हजार ४०० प्रदर्शक रहने अपेक्षा गरिएको छ र यो एशियामा हुने पहिलो ठूलो कम्प्युटर र चिप सम्बन्धी सम्मेलन हो, जुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्पनीहरूलाई अमेरिका भित्र उत्पादन बढाउन दबाब दिने उद्देश्यले भारी कर लगाउने चेतावनी दिएको समयपछि पहिलो पटक हुन लागेको हो ।