काठमाडौं । मूडीज रेटिङ्सले विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाको ऋणको रेटिङ घटाएको छ । यससँगै देशको अन्तिम उत्कृष्ट (परफेक्ट) क्रेडिट रेटिङ पनि समाप्त भएको छ । यस निर्णयले वित्तीय बजारमा अस्थिरता ल्याउन सक्छ र ब्याज दरहरू पनि बढ्न सक्छन् । साथै ट्यारिफ र महँगीको मार खेपिरहेका अमेरिकी नागरिकहरूमा अझ बढी आर्थिक भार पर्न सक्छ ।
तीन प्रमुख क्रेडिट रेटिङ एजेन्सीहरूमध्ये मूडीज एक मात्र एजेन्सी हो जसले अहिलेसम्म अमेरिकाको ऋणलाई एएएको उत्कृष्ट रेटिङ दिइराखेको थियो । मूडीजले १९१७ देखि अमेरिकालाई परफेक्ट क्रेडिट रेटिङ दिँदै आएको थियो र यो कायम राखेको थियो ।
तर अहिले मूडीजले अमेरिकाको क्रेडिट रेटिङलाई एक स्तरले घटाएर एए वान बनाएको छ । फिच रेटिङ्स र एसएन्डपीले पहिले नै अमेरिकाको रेटिङ घटाइसकेका छन्- फिचले सन् २०२३ मा र एसएन्डपीले सन् २०११ मै । मूडीजले एक विज्ञप्तिमा भनेको छ कि यो निर्णय त्यसकारण लिइएको हो किनकि विगत एक दशकभन्दा बढी समयदेखि अमेरिकी सरकारी ऋण र ब्याज भुक्तानीको अनुपात यति धेरै बढेको छ कि यो समान रेटिङ भएका अन्य देशहरूको तुलनामा निकै उच्च भएको छ ।
ऋणको संकट
मूडीजले भन्यो कि भविष्यमा अमेरिकालाई अझ धेरै ऋणको आवश्यकता पर्न सक्छ, जसले देशको अर्थतन्त्रमा गम्भीर असर पार्न सक्छ । यद्यपि ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले यसमा प्रतिक्रिया दिँदै ट्रम्प प्रशासन अहिले बाइडेन प्रशासनका गल्तीहरू सुधार्न केन्द्रित रहेको बताए ।
'अघिल्लो सरकारले गरेको फजुल खर्च, ठगी र दुरुपयोगलाई कम गरिनेछ । यदि मूडीजमा केही मात्रामा पनि विश्वसनीयता बाँकी हुन्थ्यो भने विगत चार वर्षमा भएको वित्तीय संकटबारे चुप लागेर बस्दैनथ्यो,' उनले भने ।
मूडीजले गत वर्ष नोभेम्बरमै अमेरिकालाई रेटिङ कटौतीको चेतावनी दिइसकेको थियो । क्रेडिट रेटिङ एजेन्सीका अनुसार अमेरिका सरकारले आफ्नो आय बढाएर वा खर्च घटाएर फेरि एएए रेटिङ पाउन सक्छ । एक अनुमान अनुसार अमेरिकाको वार्षिक घाटा सन् २०२४ मा १.८ ट्रिलियन डलरबाट बढेर सन् २०३४ सम्ममा २.९ ट्रिलियन डलर पुग्नेछ । सन् २०११ मा अमेरिका १.३ ट्रिलियन डलरको वार्षिक बजेट घाटामा थियो, जुन गत वर्षसम्ममा बढेर १.८ ट्रिलियन डलर पुगेको छ ।
के असर पर्न सक्छ ?
अमेरिकी ऋणलाई लामो समयदेखि लगानीकर्ताहरूले सबैभन्दा सुरक्षित लगानीको विकल्पका रूपमा हेर्दै आएका थिए । तर मूडीजको यो रेटिङ कटौतीले प्रस्ट पारेको छ कि अमेरिकी अर्थतन्त्रले अब त्यो विश्वसनीयता गुमाउँदैछ । यसले अमेरिकी ट्रेजरी बन्डहरूको प्रतिफल ((यील्ड) भन्नाले त्यो बन्डबाट लगानीकर्ताले पाउने आम्दानीको दर हो, जुन साधारणतया वार्षिक रूपमा प्रतिशतमा व्यक्त गरिन्छ) बढ्ने सम्भावना बढाएको छ, किनकि अब लगानीकर्ताहरूले अमेरिकी सरकारलाई ऋण दिनुमा बढी जोखिम देख्न थालेका छन् ।
हालका वर्षहरूमा धेरैपटक अमेरिका डिफल्ट (ऋण तिर्न नसक्ने अवस्था) को नजिक पुगेको थियो । विश्लेषकहरू भन्छन् कि आउँदो केही वर्षभित्र अमेरिकाको ऋणदेखि-जीडीपी अनुपात २०० प्रतिशतसम्म पुग्न सक्छ, जसको अर्थ देशको कुल ऋण, उसको वार्षिक उत्पादनभन्दा दोब्बर हुनेछ ।