काठमाडौं । जेपी मोर्गन चेइसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेमी डिमोनले सोमबार अमेरिकी रेकर्ड घाटा, ट्यारिफहरू र अन्तर्राष्ट्रिय तनावले सिर्जना गरेका जोखिमलाई बजार र केन्द्रीय बैंकहरूले वास्ता नगरेको बताएका छन् ।
अमेरिकाको सबैभन्दा ठूलो बैंक (सम्पत्तिका आधारमा) का अनुभवी सीईओ तथा अध्यक्ष डिमोनले न्यूयोर्कमा आयोजित आफ्नो बैंकको वार्षिक लगानीकर्ता बैठकमा आफ्नो दृष्टिकोण प्रस्तुत गरे ।
उनले भने, 'उच्च मुद्रास्फीति र सम्भावित स्ट्यागफ्लेसन (मन्दी र मुद्रास्फीति एकैसाथ हुने अवस्था) का जोखिमहरू अहिलेको सेयर बजार मूल्यमा ठीकसँग समेटिएको छैन ।'
'हामीसँग विशाल घाटा छ- मलाई लाग्छ केन्द्रीय बैंकहरू पनि धेरै ढुक्क छन् ।तपाईंहरू सबैलाई लाग्छ उनीहरूले यो सबै सम्हाल्न सक्छन् । तर मलाई लाग्दैन,'डाइमोनले थपे ।
डिमोनका अनुसार अहिलेसम्म प्रभावकारी ट्यारिफहरू देखिएको छैन ।
डिमोनको भनाइ मोडीज रेटिङ एजेन्सीले शुक्रबार अमेरिकी क्रेडिट रेटिङ घटाएको केही दिनपछि आएको हो, जसमा सरकारी ऋण बोझ बढ्दै गएको चिन्ता गरिएको थियो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिले मुद्रास्फीति बढाउने र विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई सुस्त बनाउने डर बढेको कारण पछिल्ला केही महिनामा बजारहरू उथलपुथलमा परेका छन् ।
डाइमोनका अनुसार एसएन्डपी ५०० का कम्पनीहरूको वाल स्ट्रिट आम्दानी अनुमान जुन ट्रम्पको व्यापार नीतिका सुरुवाती हप्तामै घट्न थालेका थिए । ती अझै घट्नेछन् किनभने कम्पनीहरूले अनिश्चितताको कारण आम्दानी मार्गदर्शन हटाउने वा घटाउनेछन् ।
'मलाई लाग्छ आम्दानी अनुमानहरू घट्नेछ, जसको अर्थ पीई अनुपात पनि घट्नेछ,' डाइमोनले भने । (पीई मूल्य-आम्दानी अनुपात, जुन सेयर बजार विश्लेषकहरूले नजिकबाट हेर्ने सूचक हो।)
स्ट्यागफ्लेसन बजारले अनुमान गरेको भन्दा झन्डै दोब्बर रहेको डिमोनको भनाइ छ।
अर्कोतर्फ डिमोनका एक शीर्ष सहकर्मीले कर्पोरेट ग्राहकहरू अधिग्रहण तथा अन्य सम्झौतासम्बन्धी मामिलामा अझै ‘पर्ख र हेर’को मनस्थितिमा रहेको बताए ।
सीईओको पद हस्तान्तरण कहिले गर्ने भन्ने सधैंको प्रश्नमा डाइमोनले भने, 'गत वर्षको आफ्नो भनाइबाट केही परिवर्तन भएको छैन ।' अर्थात् उनी पाँच वर्षभन्दा कम समयसम्म मात्रै रहने सम्भावना छ ।
'म अझै चार वर्ष सीईओको रूपमा रहनेछु र सम्भवतः दुई वर्ष कार्यकारी अध्यक्षको रूपमा, त्यो लामो समय हो,'डाइमोनले भने ।
सोमबार दिइएका कार्यकारी प्रस्तुतिमध्ये उपभोक्ता बैंकिङ प्रमुख मरियन लेकले पूरै एक घण्टा बोलेर सबैभन्दा लामो समय लिइन् । उनी सम्भावित उत्तराधिकारीका रूपमा हेरिएकी छन् । सञ्चालन प्रमुख जेनिफर पिएप्स्जाकले सीईओको दौडमा नजाने घोषणा गरेपछि लेक सम्भावित उत्तराधिकारीको रूपमा हेरिन थालेकी हुन् ।