युद्धविरामका लागि रुस र युक्रेनले तुरुन्त वार्ता सुरु गर्ने ट्रम्पको दावी

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन युद्धविराम र त्योभन्दा महत्त्वपूर्ण युद्धको अन्त्यका लागि ‘तुरुन्तै’ वार्ता सुरु गर्ने बताएका छन् ।

ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा जानकारी दिँदै सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग दुई घण्टा कुराकानी भएको बताएका छन् । ट्रम्पका अनुसार पुटिनसँगको संवाद ‘धेरै सकारात्मक’ रह्यो ।

ट्रम्पले लेखेका छन्, 'रुस र युक्रेन युद्धविराम र त्योभन्दा पनि महत्त्वपूर्ण युद्धको अन्त्यका लागि तुरुन्त वार्ता सुरु गर्नेछन् । यसको सर्तहरू दुबै पक्षको सहमतिबाट तय हुनेछ ।'

ट्रम्पले भनेका छन् कि उनले यसबारे जानकारी युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई गराइसकेका छन् ।

त्यसका साथै उनले युरोपियन आयोगकी अध्यक्ष उर्सुला भोन डेर लायन, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों, इटलीकी प्रधानमन्त्री जिओर्जिया मेलोनी, जर्मनीका चान्सलर फ्रिडरिख मर्त्स र फिनल्यान्डका राष्ट्रपति एलेक्जेन्डर स्टबलाई समेत जानकारी गराएका छन् ।

पुटिनले भनेका छन् कि रुस शान्तिका लागि युक्रेनसँग ‘समझौता’ गर्न वार्तामा बस्न तयार छ । तर उनले उक्त समझौतामा के-के विषय समावेश हुनेछन् भन्नेबारे स्पष्ट पारेनन् ।

‘संकटका मूल कारणहरूलाई सम्बोधन गर्नुपर्छ’ भन्ने चाहना उनकाे छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्यका लागि युक्रेन, रूस, अमेरिका, युरोपेली संघका देशहरू र बेलायतबीच ‘उच्च स्तरीय’ बैठकबारे विचार गरिरहेको बताएका छन् ।

जेलेन्स्कीले अमेरिकालाई पनि यी छलफलहरूबाट टाढा नहुन आग्रह गरेका छन् । उनले भने, 'रुसले पनि सार्थक वार्तामा संलग्न हुन तयार रहेको देखाउन आवश्यक छ ।'

Share News