काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै अन्तरबैंक टेलर क्युआर सेवा सुरु गरेको छ । यस सेवाअन्तर्गत अब अन्य बैंकमा खाता भएका ग्राहकले पनि मुक्तिनाथ बैंकको टेलरमा उपलब्ध क्युआर स्क्यान गरी नगद झिक्न सक्ने भएका छन् ।
यो सुविधा प्रयोग गर्न ग्राहकले आफ्नो बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी मुक्तिनाथको टेलर काउन्टरमा रहेको क्युआर स्क्यान गर्नुपर्नेछ । यसबाट परम्परागत रूपमा चेक र एटिएम कार्डमार्फत नगद निकाल्नुपर्ने झन्झट कम हुने बैंकले जनाएको छ ।
शुरुवातमा यो सेवा लाजिम्पाट मुख्य शाखा, पोखराको नागढुङ्गा, कोहलपुर, इटहरी, नारायणगढ, र कमलादी शाखाबाट सुरु गरिएको छ । बैंकले निकट भविष्यमा देशभरका सबै शाखामा यो सेवा विस्तार गर्ने योजना बनाएको छ ।
यस प्रविधिले बैंकिङ पहुँच नपुगेका स्थानका ग्राहकलाई पनि सहज रूपमा नगद सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।